सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलहरुमा महेन्द्रनगर क्रिकेट क्लब र आयोजक कर्णाली-११ ले जित हाँसिल गरेका छन् ।
लगातार तेश्रो खेलमा जित हाँसिल गर्दै आयोजक कर्णाली-११ ले समुह ‘ए’ बाट सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । सेमीफाइनल पुग्ने अन्य ३ टिमको भने
टुंगो लाग्न बाँकी रहेको छ।
पहिलो खेल – महेन्द्रनगर क्रिकेट एकेडेमीसंग हिमालयन क्रिकेट एकेडेमी पराजित
सोमबार सम्पन्न पहिलो खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमीलाई ५ रनले पराजित गर्यो । खेलमा टस जितेर ब्याटिंग गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो । १५२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो। हिमालयनको ब्याटिंगमा पदम केसीले ५० तथा दिपेन्द्र ऐरीले अविजित २९ रन जोडेपनि जितका लागि पर्याप्त भएन । महेन्द्रनगरको बलिंगतर्फ बिक्रम ठगुन्नार आकाश चन्दले समान २-२ विकेट हात पारे।
यसअघि पहिले ब्याटिंग गरेको महेन्द्रनगरका लागि किरन ठगुन्नाले अविजित ४१ रन जोडेका थिए । यस्तै दिनेश आग्रीले व्यक्तिगत ३३ रनको योगदान गरे। हिमालयनको बलिंगमा शरद खड्काको नाममा २ विकेट रहेको थियो ।
खेलको प्लेयर अफ द म्याच किरन ठगुन्ना घोषित भए ।
दोश्रो खेल – कर्णाली-११ संग त्रिभुवन आर्मी स्तब्ध
खेलमा टस जितेर ब्याटिंग रोजेको कर्णाली-११ ले २० ओभरमा ७ विकेट गुमाएर १५६ रनको योगफल तयार गरेको थियो । उसको लागि लोकेस बमले सर्वाधिक ५० रन बनाए । ३० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रदिप रसाइलीले ३४, जितेन्द्र सिंह ठकुरीले ३० तथा कप्तान रबिन्द्र जंग शाहीले २३ रन योगदान दिए । आर्मीको बलिंगमा सुसन भारि एक्लैले ५ विकेट लिए भने जितेन्द्र मुखिया र कुशल मल्लले १/१ विकेट लिए ।
१५७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो । आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ का बलर कृष्ण कार्की र रबिन्द्र जंग शाहीले ३/३ विकेट लिए । किशोर महतो र जितेन्द्र सिंह ठकुरीले १/१ विकेट लिए । आर्मीको लागि बिनोद भण्डारीले सवारधिक ५५ तथा हरि बहादुर चौहानले ३८ रन बनाए । बिनोदले ४२ बलमा ९ चौका र १ छक्का तथा हरिले ३७ बलमा ६ चौका प्रहार गरे ।
एक समय १५ ओभरमा ११२/३ को स्थितिमा रहेको आर्मीले त्यसपछि लगातार विकेट गुमाएको थियो । बाँकी ५ ओभरमा आर्मीले २५ रन मात्रै बनाउन सक्यो भने ५ थप ५ विकेट गुमाउन पुग्यो ।
खेलको प्लेयर अफ द म्याच कर्णाली-११ का कप्तान समेत रहेका रबिन्द्र जंग शाही घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि २ खेल संचालन हुनेछन् । बिहानको पहिलो खेलमा समुह बि अन्तर्गत न्यु होराइजन र हिमालयन क्रिकेट एकेडेमीले
प्रतिस्पर्धा गर्नेछन् । यस्तै दिउसोको खेलमा त्रिभुवन आर्मी क्लबले मध्य-पश्चिम क्रिकेट क्लबसंग खेल्नेछ।
प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार १८:३७