सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २८ औं स्थापना दिवसको अवसरमा सुर्खेतका अग्रज पत्रकारहरुले महासंघ स्थापना गर्ने बेलाको स्मरण गरेका छन् ।
सोमवार आयोजना गरिएकाे कार्यक्रममा उनीहरुले विगत र अहिलेको पत्रकारिताको अवस्थाको तुलना गरे । प्रेस स्वतन्त्रन्ता सेनानी एवं पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष बालाराम शर्माले विगतमा पत्रकार खोज्नुपर्ने अवस्था भएको भन्दै अहिले संख्याको हिसावले बढ्दै गएकोमा खुशी प्रकट गरे । उनले पत्रकारिताले गर्दा शासन व्यवस्था परिवर्तनमा सघाउ पुगेपनि शासकहरुको मानसिकता नफेरिएको बताए ।
साथै संघीयता अनुसारको प्रदेशको आर्थिक सामाजिक विकासमा पत्रकारको कमल सशक्त बन्न उनले सुझाव दिए । पत्रकार महासंघका पूर्व अध्यक्ष पीताम्बर ढकालले चुनौतीका वीचबाट स्थापना भएको सुर्खेतको महासंघ ती चुनौतीहरु पार गर्दै यहाँसम्म आउन सफल भएकोमा खुशी व्यक्त गरे । अहिलेका पत्रकारहरु ऊर्जाशील भएको आफूले पाएको भन्दै उनले प्रविधिले पत्रकारितालाई सहज बनाएको उल्लेख गरे ।
पर्व अध्यक्षहरु कमलेश डीसी र श्रीधर पौड्यालले आत्मसमीक्षा गर्दै पत्रकारहरुको कमल सकारात्मक दिशामा बढ्नुपर्ने सुझाव दिए । महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले प्रेस स्वतन्त्रतामाथिको संकट अझैपनि कायमै रहेको बताए । उनले विगतमा पनि संकट रहेको र अहिले पनि त्यो कायमै रहेकोले पत्रकारहरु आन्दोलन गरिरहनुपरेको उल्लेख गरे । संचारमाध्यम र पत्रकारहरुको संख्या बढेपनि गुणात्मक विकास हुन नसकेको मा उनको चिन्ता छ ।
महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, असिम अटो पार्ट्सका संचालक लक्ष्मण कँडेललगायतले पत्रकारहरुको कमल सशक्त र प्रभावकारी हुनुपर्ने सुझाव दिएका छन् ।
सो अवसरमा स्थापना दिवसमा आयोजित स्लो बाइक राइडिह्, व्याडमिन्टन खेलका विजेताहरुलाई पुरस्कारका साथै रक्तदान गर्ने रक्तदाता र सहयोग गर्नेहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । सुर्खेत शाखा उपाध्यक्ष ललित बसेलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सुदीप पुरीले गरेका थिए ।
प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार १५:१०