सुर्खेत । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वाईवाई कर्णाली प्रिमियर लिगको दोश्रो सिजन ( केपीएल-२ ) सुर्खेतमा सुरु भएको छ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि दल रावलले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा झापाको लालीगुराँस क्रिकेट क्लबलाई आयोजक टिम कर्णाली-११ ले ८ विकेटले सहजै पराजित गरेकाे छ । सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको लालीगुराँस क्रिकेट क्लबले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १०१ रनको योगफल तयार गरेको थियो ।
लालीगुराँसका लागि रोनक दक्षिणीले सर्वाधिक २१ रन , अजय यादबले २०, यश कनदियाले १६ तथा दिपेन योगीले १५ रन बनाए। कर्णाली-११ को लागि बलिंगमा यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका किशोर महतो र दिवान पुनले ३/३ विकेट लिए। किशोरले ४ ओभरमा १ मेडन ओभर गर्दै १३ रन मात्रै खर्चिए । यस्तै अर्का यु-१९ राष्ट्रिय क्रिकेटर जितेन्द्र ठकुरीले २ विकेट तथा कृष्ण कार्कीले १ विकेट लिए । १०२ रनको लक्ष्य आयोजक कर्णाली-११ ले १४.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । लक्ष्य पछ्याउने क्रममा कर्णाली-११ का कप्तान रबिन्द्र जंग शाहीले अविजित ४५ रन बनाए । अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शाहीले ४७ बलमा ६ चौका र छक्का प्रहार गरे भने निश्चल रावलले ३१ रन बनाए ।
खेलको प्लेयर अफ द म्याच किशोर महतो घोषित भए जसले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार २ खेलहरु खेलिनेछन् । बिहानको खेलमा न्यु होराइजन बुटवल र महेन्द्रनगर क्रिकेट एकेडेमी तथा दिउसोको खेलमा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन् ।
त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्। दुवै समूहबाट उत्कृत हुने २/२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछनन् । प्रतियोगिता अवलोकन गर्न आउने दर्शकको लागि टिकट मूल्य ३० रुपैयाँ देखि पाँचसय रुपैयाँसम्म तोकिएको छ ।
दर्शकको मनोरंजनको लागि प्रत्येक दिन एकजना दर्शकलाई गोलाप्रथाबाट टिभी सहित अन्य विभिन्न आकर्षक उपहार प्रदान गरिनेछ । साथमा फाइनल खेलमा एकजना दर्शकलाई मोटरसाइकल समेत प्रदान गरिने आयोजकले जनाएकाे छ ।
प्रकाशित मिति: १२ बैशाख २०७६, बिहीबार १८:३९