सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले तालिम प्राप्त घरेलु महिलालाई स्वरोजगार बनाउने अभियान शुरु गरेको छ । तालिम गरेर पनि घर बस्दै आएका महिलालाई स्वरोजगार बनाउन नगरपालिकाले सो अभियान सुरु गरेको हो ।
महिला स्वरोजगार कार्यक्रम अन्तर्गत शुरु भएको ढाका तथा घरेलु कपडा बुनाई उत्पादन तालिमको नगर प्रमुख देवकुमार सुवेदीले बिहीबार उद्घाटन गरे ।
उपप्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको सो तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल लगाएत नगर कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिम उद्घाटन कार्यक्रममा सामाजिक विकास समिति संयोजक यमुना नेपालीले तालिमको उद्देश्य माथि प्रकाश पारेकी थिइन् भने १४ नम्बरका अध्यक्ष टोपबहादुर दर्लामीले शुभकामना दिएका थिए ।
सो तालिम पछि २० जना महिला प्रत्यक्ष रुपमा स्वरोजगार हुने भएका छन् । मलिालाई नगरपालिकाले मासिक पारिश्रमिक दिने र तालिम प्राप्त महिलाले उत्पादन गर्ने सामग्रीको विक्री वितरणको व्यवस्थापन नगरपालिका कार्यालयले गर्ने नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
त्यसैगरी नगरपालिकाले महिला स्वरोजगार कार्यक्रम अभियान अन्तर्गत २३ जना महिलाको सहभागितामा अटो ड्राइभिङ तालिम सञ्चालन गरेको छ ।तालिममा सहभागि महिलाले सिकेको शिपलाई प्रयोगमा ल्याउन नगरपालिकाले आवश्यक सहयोग र सहजिकरण गर्ने वरिष्ठ अधिकृत पौडेलले बताए ।
वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रमका लागि विनियोजन गरेको १ करोड रुपैयाँ अन्तर्गत महिला स्वरोजगार, महिला शिप विकास र स्वरोजगार सहकार्य कार्यक्रम सञ्चालन गर्न छुट्टै महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि समेत जारी गरेको वरिष्ठ अधिकृत पौडेलले जनाएका छन् ।
प्रकाशित मिति: १२ बैशाख २०७६, बिहीबार १७:४५