काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सात लाख ६२ हजार ३०७ परिवारले अनुदान सम्झौता गरेकामा छ लाख १२ हजार ९३५ ले पुनःनिर्माण शुरु गरेको जनाएको छ । भूकम्पको चार वर्ष पूरा भए पनि प्राधिकरण स्थापना भएर काम शुरु भएको ४० महीनामात्र भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, “पुनःनिर्माण शुरु भएकामध्ये ५० प्रतिशत अर्थात् तीन लाख ८२ हजार २७७ घर निर्माण सम्पन्न भइसकेका छन्, दुई लाख ३० हजार ६५८ घर हाल बनिरहेको छ, जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ ।”
भूकम्पले सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा चार हजार ४७६ पुनःनिर्माण भएको छ भने एक हजार ७७२ बनिरहेका छन् । विद्यालय पुनःनिर्माणमा ८३ प्रतिशत उपलब्धि हासिल भएको प्राधिकरणले जनाएको छ ।
हालसम्म ६४३ स्वास्थ्य संस्था पुनःनिर्माण भएका छन् । एक सय ४५ पुनःनिर्माणका क्रममा छ । स्वास्थ्य क्षेत्रको उपलब्धि प्रतिशत ६६ प्रतिशत छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका पुरातात्विक सम्पदा पुनःनिर्माणको उपलब्धि ५९ प्रतिशत छ । सात सय ५३ सम्पदामा क्षति पुगेकामा २२४ को काम सम्पन्न भएको छ । दुई सय २१ हाल पुनःनिर्माण भइरहेको छ । कमप्रभावित १८ जिल्लाका सम्पदा पुनःनिर्माणको काम भने शुरु हुन सकेको छैन । गुम्बा पुनःनिर्माण कार्यविधि तय गरी डिजाइन भइरहेको छ ।
सुरक्षा निकायका १४५ भवन निर्माण भएको छ । हाल तीनै सुरक्षा निकायका गरी ७१ भवन निर्माणको काम भइरहेको छ । सरकारी भवन पुनःनिर्माणमा भने ९८ प्रतिशत उपलब्धि हासिल भएको छ । त्रिसठ्ठी प्रतिशत सरकारी भवनको पुनःनिर्माण र ३५ प्रतिशत पुनःनिर्माणका क्रममा छन् । भूकम्पबाट क्षति भएका सडक, खानेपानीलगायत संरचनाको पुनःनिर्माण पनि भइरहेको जनाइएको छ ।
पुनःनिर्माणमा केही दाताले प्रतिबद्धता जाहेर गरेभन्दा बढी रकम सहयोग गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । राजनीतिक सङ्क्रमण,
संविधान निर्माण प्रक्रिया, नाकाबन्दी, भूकम्पको आठ महीनापछि मात्र प्राधिकरणको स्थापना हुनु, राजनीतिक अस्थिरतासँगै प्राधिकरणको नेतृत्व
परिवर्तनलगायत चुनौती भए पनि कामको मूल्याङ्कन गर्दा राम्रो उपलब्धि हासिल भएको जनाइएको छ ।
पुनःनिर्माण गर्न ठूलो चुनौतीका रुपमा वित्तीय व्यवस्थापन रहेको बताइएको छ । पुनःनिर्माण र पुनःस्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनःनिर्माणका
लागि कूल रु ९३८ अर्ब आँकलन गरिएको थियो । सोमध्ये आर्थिक वर्ष २०७४÷०७५ सम्म रु १८६ अर्ब खर्च भएको थियो । चालू आर्थिक वर्षमा रु १२३ अर्ब
खर्च गर्ने परिमार्जित लक्ष्य छ ।
सरकारको नियमित कार्यक्रम तथा निजी र गैरसरकारी क्षेत्रबाट करीब रु २०० अर्ब परिचालन हुने प्राधिकरणको अपेक्षा छ । पुनःनिर्माण गर्न थप करीब रु ४२९ अर्ब आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । पुनःनिर्माणको प्रगति वित्तीय व्यवस्थापनमा निर्भर हुने भएकाले अर्थ मन्त्रालय र दातृ निकायसँग सघन छलफल भइरहेको छ ।
पुनःनिर्माणमा अनुभवी कर्मचारी समायोजनका क्रममा प्रदेश र स्थानीय तहमा खटिएकाले काममा असर परेको हुँदा थप चुनौती आइपरेको छ । चार
वर्षअघिको भूकम्पले सुरक्षित भौतिक संरचना निर्माणको अवसरसमेत दिएको छ । भूकम्प प्रभावित स्थानमा सुन्दर सुरक्षित बस्ती निर्माण भएको छ ।
निजी आवास पुनःनिर्माण सम्पन्न गर्नेले जीविकोपार्जनका अवसरको समेत माग गरेका छन् । भूकम्पपीडितलाई जीविकोपार्जनका अवसरसँग जोडी आर्थिक
रुपान्तरण गर्ने लक्ष्यसमेत छ । आर्थिक सामाजिक पुनःस्थापनाका लागि सहुलियत ऋणको व्यवस्था गरिएको छ । आगामी आर्थिक वर्षदेखि विशेष सहयोग कार्यक्रम सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार ०७:२८