काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका आदिवासी जनजातिको पक्षमा विगतमा विद्रोह गर्नुपरेको र संविधानमा पनि ती समुदायका पक्षमा आफूले फरक मत राखेको बताएका छन् । मंगलबार आयोजित आदिवासी आयोगका मुद्दा, चासो र अधिकारका बारेमा उच्चस्तरीय बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अधिकार प्राप्तिका शान्तिपूर्ण प्रदर्शन गर्दै र नेतृत्वलाई बेलाबेला झक्झक्याइरहनुपर्छ ।’
अध्यक्ष प्रचण्डले भने, मैलै तपाँईहरुसंग कुनै कुटनीतिक कुरा गरेको छैन, अहिलेको अवस्था कम्परमाइजको अवस्था हो, मैले कुनै पनि कुरा जनतासंग लुकाएको छैन, शान्ति प्रक्रिया पनि कम्परमाइज नै हो ।’
दोश्रो संविधानसभामा तत्कालिन माओवादीको अपेक्षित परिणाम नआएकै कारण पहिचान सहितको संघियता, संघियताको सहितको संविधान भन्ने नारा कार्यान्वयन गर्न नसकेको उनको भनाई थियो । पहिचान सहितको संघियता, संघियताको सहितको संविधान भन्ने नाराका साथ निर्वाचनमा गएको तर पहिलो र दोश्रो संविधानसभाको निर्वाचनको परिणाममा निकै फरक परिणाम आएकाले नारालाई साकार पार्न आफु असफल भएको उनले बताए ।
अध्यक्षले भने, ‘जातिय र भौगोलिक आधारमा ११ प्रदेशमा सहमति बनेको थियो, तर पहिलो संविधानसभा सफल हुन सकेन । त्यस्तै संविधानसभाको दोश्रो निर्वाचन भयो, हाम्रो अपेक्षित परिणाम आउन सकेन ।’
नेपालको राष्ट्रिय एकताका लागि सबैको पहिचान, अधिकार र आत्मसम्मानलाई समान ढंगले अघि बढाउने उनको विश्वास थियो । अध्यक्ष प्रचण्डले मुलुकमा भइरहेका पछिल्ला गतिविधिले परिवर्तनलाई संस्थागत गर्न नदिन प्रयास भइरहेका देखिएको उनको धारणा थियो । अध्यक्षले आफू अमेरिका जाँदा भएका गतिविधि र मुलुकमा पूर्वराजादेखि केही राजनीतिक दलहरूले गरिरहेका गतिविधिले नेपालको इतिहासदेखि भइरहेको अस्थिरतालाई सम्झाएको बताए ।
उनले भने, ‘यहाँका पूर्वराजा महाराजाले गर्न भन्न खोजेका कुराहरू, हिँड्न खोजेका बाटा र गर्न खोजेका गतिविधिले पार्टीहरू भित्रै पनि बिस्तारै बिस्तारै आउन खोजेका ट्रेन्डहरू हेर्छु, कहीँ न कहीँ त्यस खालको गतिविधि बनाउने कसरत भइराखेको गन्ध आउछ। यसलाई रोक्न सक्ने तागत र हिम्मत हामीसँग छ ।’
२००७ सालमा विपीले गरेको क्रान्तिलाई २०१७ सालमा उल्ट्याइएको र २०४७ सालमा गणेशमानसिंहहरूले गरेको परिवर्तन संस्थागत हुन नपाउँदै उल्टिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले नेपालमा ८/१० वर्षमा राजनीतिक परिवर्तन उल्ट्याइने गरेको बताए । उनले २०६२/६३ सालमा भएको परिवर्तन गुणात्मक परिवर्तन भएको भन्दै यसलाई उल्ट्याउन खोज्नेलाई रोक्ने क्षमता आफूहरूसँग भएको पनि बताए ।
प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार ०७:०६