सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालले मंगलवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सो सेवाको उद्घाटन गरेपछि सेवा सुरु भएको हो ।
अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले जनशक्ति र उपकरणको अभावका कारण विरामीहरु उपचार सेवाबाट बञ्चित हुन नहुनेमा जोड दिएका छन् । उनले छिटै ओएनएम गरेर जनशक्ति पूर्ति गरिने प्रतिवद्धता जनाए । उनले सुर्खेतलाई कर्णालीको स्वास्थ्यको केन्द्र बनाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारले पनि प्राथमिकता दिनुपर्ने बताए । उनले मन्त्रालयले प्राथमिकताका आधारमा डाक्टर तथा उपकरण पठाउने आश्वासनपनि दिए । साथै कर्मचारी समायोजनाले पनि स्वास्थ्य क्षेत्र प्रभावित बनेको उनको भनाइ छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पताललाई ३०० शैयाको प्रेषण अस्पतालको रुपमा विकास गर्ने निर्णय भइसकेकोले आवश्यक उपकरण खरिद र जनशक्तिको समस्या रहेको जानकारी दिए । कर्मचारी समायोजनले प्रदेश अस्पताल रित्तै भएको भन्दै उनले जतिसक्यो छिटो जनशक्ति व्यवस्थापनको माग गरे ।
पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य यामलाल कँडेलले बजेट र नीति निर्माण गर्ने तहमा पहुँच नपुग्दा कर्णाली प्रदेश अस्पतालको अवस्था टिठलाग्दो बनेको बताए । जिल्ला, क्षेत्रीय र प्रदेश अस्पताल नाम बनाएपनि उपकरण र जनशक्तिको अभाव सधैं भइरहेको उनको भनाइ छ ।
प्रदेश अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले कर्मचारी समायोजनको असर प्रदेश अस्पतालमा परेको बताए । प्रदेश अस्पतालले कर्णाली प्रदेशको उत्कृष्ट सेवा प्रदान गर्ने प्रयासमा रहेको भन्दै उनले ३०० शैयाको प्रेषण अस्पतालको रुपमा विकास गरिने बताए ।
स्वास्थ्य विभागबाट प्राप्त भएको सिटी स्क्यानले यस क्षेत्रका विरामीहरु लाभान्वित हुने अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कँडेलले बताए । यहाँ यो सेवा नहुँदा विरामीहरु कोहलपुर, काठमाडौं तथा लखनऊ जानुपर्ने बाध्यता थियो ।
प्रकाशित मिति: १० बैशाख २०७६, मंगलवार १६:०४