सुर्खेत । वीरेन्द्रनगर बजारको प्रवेशद्वार मंगलगढी चोकको धुलोधुँवासंगै शान्ति शाहीको दिनचर्या फलफूल विक्रीमै केन्द्रीत हुन्छ । विहानदेखि साँझसम्म निर्माणाधीन सडकको धुलोको बेवास्ता गरी उनी ग्राहकहरुलाई फलफूल विक्री गर्छिन् । ठेलामा राखिएका त्यही फलफूलको विक्रीबाट आएको कमाइले उनको घरको गर्जाे टरेको छ । श्रीमान्ले चलाएको अटो र फलफूल विक्रीबाट गरेको कमाई उनीहरुका आम्दानीको स्रोत हुन् ।
शान्तिको व्यापारमा कम्तीको जोखिम छैन । दिनभरको सडकको धुलोधुवाँभित्र उनले फलफूलको व्यापार गर्नुपरेको छ । त्यही धुलोधुवाँका कारण उनी पटक पटक विरामी हुने गरेको बताउँछिन् । तर धुलोमै व्यापार नगरी के गर्नु ? अन्यत्र जाने ठाउँ पनि त छैन । सडकमै ज्यानको जोखिम मोलेर भएपनि व्यापार गर्नुपरेको बाध्यता शान्ति सुनाउँछिन् । धुलोमा नबसे व्यापार नहुने गुनासो गर्दै उनले दैनिक हुने आम्दानीले धुलो नै विर्सिने गरेको बताउँछिन् । उनले दैनिक पाँच हजारदेखि आठ हजारसम्म आम्दानी गर्छिन् । त्यो आम्दानीले दिनभरको धुलो धुँवालाई पनि मेटाउने गरेको उनको भनाइ छ ।
यसैगरी दैलेख घर भइ हाल वीरेन्द्रनगर ३ तातापानी बस्ने पूर्णप्रसाद शर्माको दैनिक पनि धुलोधुवाँमै वित्ने गर्दछ । ठेलामा फलफूल राखेर सडक किनारमा बेच्दै आएका शर्माले पनि दैनिक चार हजार कमाई गर्छन् । त्यही कमाइबाट उनको घर खर्च चलेको छ । सडक छेउमा धुलोधुवाँमा व्यापार गर्दा ज्यान जोखिममा परेको उनलाई पनि थाहा छ । अझ फोरलेन सडक बनाउने थालेयता उनको व्यापार खस्किएको छ । धुलोले उनी बारम्बार विरामी पनि पर्ने गरेको बताउँछन् ।
सडक छेउमा जुत्ता मर्मत गर्दै आएका बलबहादुर सार्की पनि धुलोधुवाँले आजित छन् । धुलोमै बसेर भएपनि दैनिक ५०० रुपैयाँसम्म कमाई गर्छन् उनी । सडकको धुलोका कारण विरामी भएको भन्दै उनले कमाएको पैसा पनि उपचारमा सकिने गरेको जनाए ।
यसैगरी दैलेख घर हाल वीरेन्द्रनगर खजुरा बस्दै आएका टंक रेग्मीले ठेलामा सानो खुद्रा पसल गर्दै आएका छन् । उनिपनि दैनिक ५०० रुपैयाँसम्म कमाई गर्छन् । उनी सडकको धुलोको कारण विरामी भएको भन्दै दैनिक कमाएको पैसा उपचारमा सकिएको बताउँछन् । बाध्यताले सडकमै व्यापार गर्नुपरेको भन्दै उनले नगरपालिकाले कुनै निश्चित ठाउँ तोकिदिए त्यही गएर व्यापार गर्दा सहज हुने जनाउँछन् ।
उनीहरुजस्तै पाँच दर्जन साना व्यवसायीहरु सडक किनारमा जोखिमको व्यापार गर्दै आएका छन् । कोहीले फलफूल, कसैले फेन्सी तथा खुद्रा सामग्रीको पसल थालेर सडक किनार बसेका छन् । छिनछिनमा गुड्ने गाडीको धुलोधुवाँले उनीहरुको स्वास्थ्य अवस्थासमेत कमजोर बन्दै गएको छ । जोखिम भएपनि उनीहरुले आप्mनो व्यापार गर्न छोडेका छैनन् । ठूलो ठाउँमा व्यापार गर्ने उनीहरुको अवस्था छैन । धुलो उड्ने सडकमै भएपनि कमाई बढी हुने आशाले उनीहरुले आफ्नो स्वास्थ्य अवस्था विर्सेर भएपनि त्यहीं नै व्यापार गरी बसेका छन् ।
यता वीरेन्द्रनगर नगरपालिकाले भने साना व्यवसायीहरुलाई व्यवसाय गर्ने छुट्टै स्थानको अभाव भएको जनाउँछ । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले सडक छेउछाउ व्यवसाय गर्न नपाइने भएपनि छुट्टै स्थानको अभाव भएको बताउँछन् । सडक किनारमा सानोतिनो व्यापार व्यवसाय गरी जीवनयापन गर्ने साना व्यवसायीहरुको लागि नगरपालिकाले केही योजनाहरु बनाउन सक्ने उनको भनाइ छ ।
प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार १५:०६