भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षालाई ध्यानमा राखेर प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाल आदिवासी जनजाती सङ्घ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जनअपेक्षालाई ध्यानमा राखेर सरकार जानुपर्नेमा जोड दिए ।
सरकारले दुई तिहाइको आडमा प्रतिपक्षको बेवास्ता गर्दै अगाडि बढेको बताउँदै मानवअधिकार, लोकतन्त्र, स्वतन्त्र पत्रकारिता र न्यायालयमाथि चुनौती थपिएको डा कोइरालाले आरोप लगाए । प्रधानमन्त्रीले सङ्घीयताको मर्म विपरीत सबै शक्ति आफैँमा केन्द्रित गर्न खोजेको आरोप लगाए ।
नेपाली कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको बताउँदै अहिलेकै अवस्थामा कांग्रेस पार्टी बलियो हुन नसक्ने भनाइ राखे । पार्टी बलियो बनाउन कांग्रेस सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउँदै उनले कांग्रेस आन्तरिक बिबादमा रुमल्लिँदा पार्टी कमजोर बनेको बताए ।
उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको अब कांग्रेस बलियो हुनुपर्ने चर्चा गर्दै सरकारको कमजोरीप्रति कांग्रेसले कडा प्रतिवाद गर्न नसक्दा लोकतन्त्र फस्टाउन नसक्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले, नेता बुद्घिमान पाख्रिन, जिल्ला सभापति दुर्लभ थापा, पूर्वसांसद लेखनाथ न्यौपाने, नेता बाबुराजा जोशी, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ लगायतले वैशाख ११ गतेदेखि शुरु हुने जागरण अभियानमार्फत काङ्ग्रेस एकताबद्ध भएर अघि बढ्ने बताए ।
प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार ०७:२१