पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठन भएको एक वर्ष जग निर्माणको वर्ष भएको बताएका छन् ।
गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा उनले यसबीचमा विकास निर्माणका आधार तयार भएको बताए । नयाँ संरचना भएका कारण अत्यावश्यक कानून निर्माणलगायतमा सरकार लागेको उल्लेख गर्दै उनले यसबीचमा विभिन्न कानूनका साथै नियमावली र कार्यविधि तयार भएको बताए ।
कूल विकास बजेटको २१ प्रतिशत खर्च भएको स्पष्ट पार्दै मुख्यमन्त्री गुरुङले चालू आयोजना निर्माणका काम अघि बढिरहेको बताए । आर्थिक वर्षको अन्त्यसम्म करीब ८० प्रतिशत बजेट खर्च हुने उल्लेख गर्दै उनले विकास निर्माणमा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे ।
प्रदेशको समग्र विकासका लागि विभिन्न समिति गठन भई ती समिति क्रियाशील रहेको चर्चा गर्दै उनले सरकारले आवधिक योजनाका लागि सुझाव सङ्कलन गरेको जानकारी दिए । यस अवधिमा विपद् जोखिम न्यूनीकरणका साथै पीडितको राहत तथा उद्धारमा सरकार लागेको बताउँदै उनले ढोरपाटनका आगलागी पीडितका साथै बारा र पर्साका हावाहुरीपीडितलाई सहयोग उपलब्ध गराइएको बताए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार पार्न सरकार निरन्तर क्रियाशील भएको उनको भनाइ छ । विकासको साझेदारीका लागि अन्य मित्रराष्ट्रसँग सहयोग आदानप्रदानको प्रयास गरिएको बताउँदै उनले चीनको हाइनान प्रान्तसँग विकास साझेदारीको सम्झौता भएको जानकारी दिए । सङ्घीय सरकारले समयमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा एवं कतिपय कानून बन्न नसक्नु र भौतिक संरचना, सवारी साधन तथा अनुभवको कमीका कारण बजेट कार्यान्वयमा मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले आवश्यक आधार तयार भएको हुँदा आगामी आवको शुरुबाटै विकास निर्माण कार्यले प्राथमिकता पाउने बताए ।
सरकारले दुई वर्षको अवधिमा प्रदेश उज्यालो र ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताउँदै उनले त्यसअन्तर्गत हालसम्म ४५० खानेपानी धार जडान गरिएको बताए । गण्डकी विश्वविद्यालय निर्माण गर्नका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकामा जग्गा प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि झण्डै रु आठ अब खर्च लाग्ने अनुमानसहित स्वीकृतिका लागि सङ्घीय सरकारमा सिफारिश गरिएको जानकारी दिए ।
प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार ०६:५४