बनेपा । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विद्यालय तहदेखि नै वित्तीय शिक्षाका बारेमा पठनपाठन शुरु गर्नुपर्ने बताएका छन् । काभ्रेपालञ्चोकको बनेपा नगरपालिका वडा नं ४ नालास्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा नेपाल राष्ट्र बैंकको ६४औँ वार्षिकोत्सवका अवसरमा बैंक तथा वित्तीय संस्थासमेतको सहभागितामा आयोजित ‘वित्तीय साक्षरता साइकल ¥याली २०७६’ कार्यक्रममा उनले विद्यालयमा बढ्न जाने बालबालिकालाई पैसाको कसरी सदुपयोग गर्नुपर्छ भनेर सिकाउन आवश्यक रहेको बताएका हुन् ।
“अहिले त झन स्थानीय सरकारका कारण हरेक गाउँगाउँमा बैंक र वित्तीय संस्था पुगेको छ, तर हामीले आफ्नै आँगन अगाडिको पैसा नदेखेर कतार र साउदी अरबलगायतका देशमा गइरहेका छौँ”, उनले भने, “वित्तीय साक्षरता ज्ञानको अभावका कारण जीवनमा दुःख पाइरहेका छौँ ।” उनले अझै पनि देशमा ५५ प्रतिशत जनतालाई वित्तीय साक्षरताका बारेमा ज्ञान नै नभएको बताए । अझै पनि उहाँहरुलाई कमाएकोभन्दा बढी खाएर नै सिध्याउने गरेको प्रवृत्तिलाई हटाउन यसले मद्दत गर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष विभिन्न दुर्गम गाउँठाउँमा अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै वडाध्यक्ष, जनप्रतिनिधिले वित्तीय साक्षरताका बारेमा ज्ञान बाँड्दै अगाडि बढ्नुपर्ने बताए । उनले सरकारले नै कुनै पनि बैंकमा खाता नभएको व्यक्तिलाई खाता खोल्न एक सय रुपैयाँ हाली दिने अभियान सञ्चालन गरेका कारण यसले आम नागरिकलाई सहज बनाउने बताए ।
कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवकोटीले नेपाल राष्ट्र बैंकले केही वर्षदेखि वार्षिक उत्सवका अवसरमा वित्तीय साक्षरताको अभियान सञ्चालन गर्दै
आएको बताए । “पैसा कसरी कमाउने र कसरी खर्च गर्ने भन्ने विषयमा आम नागरिकलाई ज्ञान नभएसम्म भविश्यमा आर्थिकरुपले सुसूचित हुन सक्दैन”, उनले भने ।
बनेपा नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठले नालामा समाजलाई रुपन्तारण गर्नको निमित्त विभिन्नखाले अभियान सञ्चालन गरिरहेको बताए । नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई विभिन्न बैंकले विभिन्न कार्यक्रम सञ्चालन गरेर सहयोग पु¥याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे ।
सो क्रममा साइकल ¥यालीमा सहभागी नेपाल इन्भेष्टमेन्ट बैंक लिका अधिकृत नीरज सिंहले नेपाली जनतालाई बैंकसँग सम्बद्ध भएर काम गर्नका लागि सचेतना जगाउने उद्देश्यले कार्यक्रममा सहभागी भएको बताए ।
विभिन्न बैंक र वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा काठमाडौँको बालुवाटारबाट शुरु भएको साइकल ¥यालीमा वित्तीय साक्षरतासम्बन्धीका नारा लेखेका प्लेकार्डसहित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४ नालास्थित चण्डेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा पुगेर समापन गरिएको हो । अभियानमा करीब ३०० वटाभन्दा बढी साइकलयात्रीको सहभागिता थियो ।
प्रकाशित मिति: ८ बैशाख २०७६, आईतवार ०७:४१