सुर्खेत । भेरी बबईकाे सुरुङ निर्माणको काम सकिएको छ । तत्कालीन प्रधानमन्त्री कोइरालाले शिलान्यास गरेकाे भेरी–बबई प्रधानमन्त्री ओलीले भाेली मंगलबार उद्घाटन गर्ने भएका छन् । १२ किलोमिटर २ सय मिटर सुरुङ खन्ने काम सकिएकाे औपचारिक घाेषणा प्रधानमन्त्री ओलीले मंगलबार साढे १० वजे भेरी नदीकाे किनार चिप्लेमा गर्ने कार्यक्रम रहेकाे भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएकाे छ ।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले तय गरेकाे सुरुङ निर्माण कार्यकाे ब्रेक थ्रु समाराेहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयाेजना स्थल चिप्लेमा ब्रेक थ्रु काे घाेषणा गर्ने भएका छन् । अन्तरजलाधार जलस्थानातरण राष्ट्रिय गाैरबकाे आयाेजना पूर्वाधार विकासमा उदाहरण प्रस्तुत गरी ताेकिएकाे समय अगावै सम्पन्न भएकाे टनेलबोरिङ मेशिन प्रयोग गरिएको भेरी–बबई नेपालकै पहिलो नमूना आयोजना हो ।
चार वर्षमा काम पुरा हुने गरी शुरु भएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ एक वर्ष अगावै पुरा भएको छ । सरकारको महत्वाकांक्षी योजनाको रुपमा प्रस्तुत गरिएको उक्त आयोजना तोकिएको समयअगावै काम हुने पहिलो ठुलो आयोजना हुन पुगेको छ ।
बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने र बाह्रै मास ४८ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको बहुउद्देश्यीय राष्ट्रिय गौरबको आयोजना हो ।
भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ । बबई सिँचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बाँकेको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्ने छ ।
चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा पावरहाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा ४८ मेगावाट विद्युत उत्पादन गर्नेछ ।
१० अर्ब ५७ करोड रुपैयाँको लागतमा सुरुङ निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । इन्टेक र पावरहाउसको लागत समेत जोड्दा आयोजना सम्पन्न गर्न करिब ३३ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
२०७२ चैत २१ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडलाई दिएको थियो ।
प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार २०:५१