बनेपा । भूकम्प गएको करीब तीन वर्षपछि भूकम्पले चर्केका घरको औपचारिक रुपमा बल्ल प्रबलीकरण गर्ने काम शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना र सहयोगी निकाय युकेएआइडी, युएनओपिएस र ब्युल्ड चेञ्जको सहयोगमा आजदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ फलाँटेबाट शुरु भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरानो घरलाई बलियो र सुरक्षित बनाउने काम प्रबलीकरणले गर्ने भएकाले यो काम शुरु
गरेको बताए । “हिजो हाम्रो क्षति हुन पुगेका ढुङ्गा, माटो र काठले बनाएका घरहरु केही नयाँ चीजहरु थपेर बनाएको खण्डमा भूकम्पप्रतिरोधी हुन्छन्,” उनले भने, “यसअघि इञ्जिनीयरहरुलाई पनि यससम्बन्धी अध्ययन गर्न समय लागेको कारणले गर्दाखेरी केही समय ढिला हुन गएको हो ।”
उनले विभिन्न देशका विज्ञहरुसँग गरेको अध्ययन अनुसन्धान र परीक्षणबाट पास भएका प्रविधिमार्फत यसलाई प्रयोगमा ल्याइएको बताए । “बन्न लागेको घर कसरी बलियो बन्दोरहेछ हेर्नुहोस् र अरू स्थानीय बासिन्दाले पनि यसरी नै प्राविधिकबाट बलियो बनाउन लाग्नुहोस्,” ज्ञवालीले भने, “नमूनाका रुपमा बन्न लागेको घरबाट अरूले पनि सिकेर जानेछन् र यसैबाट प्रशिक्षित भएका प्राविधिकहरुले अरू घरहरु बनाउनेछन् ।”
सो बनाएको घर बनाउने मात्रै नभई ज्ञान केन्द्रका रुपमा स्थापित गर्ने उनको भनाइ छ । दश हजार प्राविधिक निर्माण गरेर काममा अगाडि बढ्ने उनले बताए । त्यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण सामग्री र निर्माणकर्मी खटाउने र जसमा एक लाखसम्म उपलब्ध गराउने जनाइएको छ ।
प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले अनौपचारिक रुपमा यसअघि पनि केही एनजिओहरुले प्रबलीकरणको कार्य शुरु गरेको भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा पहिलो पटक शुरु भएको बताए । रेग्मीले भने, “यस खालको कार्य प्रत्येक नगरपालिका र गाउँपालिकाहरुमा नमूना घर बनाउने भएको छ ।”
नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले प्रबलीकरणबाट बन्ने घरका लागि नमूनाका रुपमा अगाडि बढाउने बताए ।
इञ्जिनीयर श्रीकृष्ण श्रेष्ठले स्टो«ङ ब्याक फिटिङ विधिबाट प्रबलीकरणको काम गर्न लागेको बताए । “यस्तो विधिबाट काम गर्दा क्षति कम होस् भनेर
बाहिरबाट बाँध्ने काम गरिएको छ,” उनले भने, “भित्र काम गर्ने बेलामा सुरक्षित महसुस हुन्छ ।”
नमोबुद्ध नगरपालिका–५ फलाटेको राधा परियार र छत्रबहादुर परियारले भने, “भूकम्पले घर चर्केकाले बस्न डर मानी मानी बस्दै आएका थियौँ, अब प्रबलीकरण गर्ने भएपछि ढुक्क हुने भयौँ ।”
सो घरमा सात जनाको परिवार बस्दै आएको छ । ती सहयोगी संस्थाले भूकम्प अति प्रभावित १४ जिल्लामा ११४ वटा र अन्य जिल्लामा गरी ३२ जिल्लामा एक हजार वटा घर प्रबलीकरण गरिने जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लामा करीब ६ हजार घर प्रबलीकरण गर्नुपर्ने रहेको जनाएको छ ।
प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार ११:३१