सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसमा पूनर्जागरणको आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. ३ ले पञ्चपुरीको बाबियाचौरमा निर्माण गरेको गणेशमानसिंह स्मृति भवनको उद्घाटन गर्दै महामन्त्री खड्काले वडा तहदेखि केन्द्रतहसम्म पूनर्जागरणको खाँचो रहेको बताएका हुन् । उनले इमान्दार भएर पार्टीका नेता कार्यकताबीच भावनाआत्मक एकता गराउन आफुले पहल गर्ने बताएका छन् ।
यसैगरी नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवबहादुर शाहीले पार्टी नेतामुखी नभइ नीतिमुखी हुनुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले वर्तमान सरकार दुईतिहाइको भएपनि काम गर्न नसकेको आरोप लगाए । उनले दुईतिहाइकाे भएपनि अहिलेकाे सरकार पानी सर्प जस्तै हालतमा रहेकाे बताए । कांग्रेस नेता थानीले दुईतिहाइकाे सरकारलाई पुछ्छरमा समातेर सर्प जस्तै नचाउने शक्ति कांग्रेससँग रहेकाे बताए । उनले कांग्रेसलाई तल्लो तहदेखि गतिशील सशक्त बनाउनुपर्ने सुझाव दिए ।
क्षेत्रीय सभापति लालविर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री शिवराज जोसी, कांग्रेस सुर्खेतका सभापति कमल रेगमी, पूर्व राज्यमन्त्री द्वय तप्तबहादुर विष्ट र खड्गबहादुर बस्याल, पार्टी सचिव टाेपबहादुर रावत, जिल्ला समन्वय समिति सुर्खेतका संयाेजक छविलाल सिग्देल, पूर्व उपसभापति एवं पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादर थापा, पूर्व पार्टी सचिव धर्मराज गिरी, महिला संघ केन्द्रीय काेषाध्यक्ष जानकी सिहं, नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्ट, क्षेत्रीय सदस्य गजराज जाेशी लगायतले बोलेका थिए ।
प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार २२:००