काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्गतितर्फ जाने गलत परम्परा यस पटक तोड्नु पर्ने बताएका छन् । नेपाल टेलिकममा क्रियाशील नेपाल दूरसञ्चार कर्मचारी सङ्घ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमबीचको एकता घोषणासभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले आन्दोलन, सङ्घर्ष र बलिदानको बलमा राजनीतिक परिवर्तन भए पनि जनताले अनुभूत गर्ने गरी परिवर्तनको सकारात्मक परिणती दिन नसकिएको यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक परिवर्तन र संविधानको मर्मअनुसार अघि बढ्न सक्नुपर्छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’
कर्मचारीतन्त्र र कार्यशैलीमा पुरातन विचार र शैली हावी भइराखे त्यसले समग्र परिवर्तनलाई नै समाप्त पार्ने खतरा रहेको उनको भनाई थियो । उनले टेलिकमले सूचना प्रविधिका क्षेत्रमा आउने दिनमा गम्भीर ढङ्गले प्रस्तुत हुने र आफूलाई राष्ट्रिय हितको संवाहक र भरपर्दो संस्थाका रुपमा आफूलाई विकसित गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले टेलिकमको विस्तारका लागि दुई कर्मचारी सङ्गठनबीचको एकता साधक हुने बताए । एकताले समग्र संस्थाकै शक्ति बढेको उल्लेख गर्दै उनले शक्तिको वृद्धिसँगै टेलिकमले प्रदान गर्ने सेवामा गुणस्तरीय र कार्यक्षमता वृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । अध्यक्षले सञ्चार प्रविधिको विकासबाट नै ठूल्ठूला क्रान्त्रि सफल भएको उल्लेख गर्दै उनले २१औँ शताब्दीको युगमा टेलिकमले पनि आफूलाई प्रविधिको प्रयोगमा खरो उतार्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धामा खरो उत्रँदै आफूलाई सफल सावित गर्ने अवसर र चुनौतीका अगाडि टेलिकमले सूचना प्रविधि क्षेत्रमा विकसित प्रविधिको प्रयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई परारस्त गर्नुपर्नेमा जोड दिए । उनले भने, “सरकारी, निजी र सहकारीका बीचमा निकै ठूलो प्रतिस्पर्धा चलेको छ, अहिलेको युगमा प्रतिस्पर्धामा खरो उत्रन सकेनौँ भने कुनै पनि अर्थमा आफ्नो एकाधिकारलाई जबर्जस्ती थोपर्न सक्ने अवस्था छैन ।”
अध्यक्ष प्रचण्डले भने, “म विगतदेखि नै टेलिकमका विभिन्न गतिविधिमा सहभागी भएको छु । चाहे प्रधानमन्त्री हुँदा होस्, विपक्षी दलको नेता या दलको नेताका रुपमा होस् यहाँको समस्याका बारेमा ‘धेरथोर’ जानकार छु । तपाईँहरुले आफूले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्नुस् । कर्मचारीको जायज चासोलाई सही ढङ्गले सम्बोधन गर्न सम्बन्धित मन्त्रालय र सरकारसँग पहल गर्छु । तपाईँहरु ढुक्क हुनुहोस ।”
प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार ०७:३४