सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको चौथो नगरसभा विहीवारदेखि सुरु भएको छ । सभामा नगर उपप्रमुख मोहनमाया ढकालले दुई वटा विधेयक टेबुल गरेकी छन् । स्वास्थ्य सेवा विधेयक र विपद जोखिम न्यूनीकरण विधेयक टेबुल गरिएको छभने आर्थिक बर्ष २०७५-०७६ को फागुनसम्मको नगरपालिकाले गरेको प्रगति समीक्षाको एजेण्डा पनि सभामा राखिएको छ ।
सभामा वडा सदस्य अर्जुन सुवेदीले सुर्खेत उपत्यकाभित्रको जग्गाहरुको नक्सा पास र कित्ताकाट रोकिएकोवारे ध्यानाकर्षण गराए । उनले यो कित्ताकाट कहिलेसम्म रोकिन्छ भन्दै रोक लगाउनुको यथार्थ कारण सार्वजनिक गर्न माग गरे । यस्तै चुँडामणि चपाईले खण्डिकरण गरेर सकिएको जग्गाहरुको नक्सापास र कित्ताकाट रोक्नुको अर्थ नभएको बताउँछन् । वडा सदस्य टिका विकले नगरभित्र रहेका सुकुम्बासीहरुले लालपूर्जा नभएको भन्दै लालपूर्जा वितरणको काम छिटो गर्न नगरपालिकालाई आग्रह गरिनभने कमला नेपालीले पनि भूमिहीनहरुको समस्या समाधान गर्न माग गर्नुका साथै दलितहरुलाई विशेष प्राथमकिता दिन आग्रह गरिन् ।
वडा सदस्य कृष्णप्रसाद गौतमले चालु आर्थिक बर्षमा नगरपालिकाको बजेट कार्यान्वयन सुस्त भएको आरोप लगाए । उनले वीरेन्द्रनगर बजारको वीरेन्द्र चोकको अवस्था अहिलेसम्म पनि लथालिंग भएकोले त्यसलाइ छिटो व्यवस्थित गर्नुपर्ने र वीरेन्द्रनगर बजार जोड्ने खोर्के खोलाको रातो पुल वारिपारि पिच गर्न नगरपालिकालाई आग्रह गरे ।
सभामा टोपबहादुर रास्कोटी, डम्बरबहादुर नेपाली, सुरवीर चन्द, सावित्रा बस्नेत, लक्ष्मी ज्ञवाली, रेवती आचार्य, तृप्ति विक, पूरन शाही, रामकुमार दर्लामीलगायत कूल १४ जना सदस्यहरुले नगरभित्रको सडक, विद्युत, खानेपानीको अवस्था, हावाहुरी र असिनाबाट पीडित भएका किसानहरुको समस्यालगायतका वारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
नगर प्रमुख देवकुमार सुवेदीले नगर सदस्यहरुबाट नगरको विकास र चासोबारे राखेको सुझावप्रति सह्राना व्यक्त गर्दै नगरसभाको अर्को बैठक बैशाख २ गते गर्ने जानकारी दिए ।
प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार १७:३७