भद्रपुर । झापामा व्यावसायिक रुपमा गरिएको मेवाखेतीबाट मनग्य आम्दानी हुनथालेको छ । मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती थालेका हुन ।
यतिबेला दुवैको बगैँचामा मेवा पाक्न थालेको छ । पाकेको मेवा किन्नका लागि व्यापारी घरमै आउन थालेका उप्रेतीले बताए । उनले भाडामा लिएको १० कठ्ठा जमीनमा एक हजार विनायक जातको बिरुवा हुर्काएका छन् । उनले ‘डिएन्डडी बायोप्लानटेक’ नामक संस्थामार्फत मेवाखेती गरेका हुन् । उप्रेतीको खेतमा मेवा लटरम्म फलेर पाक्न थालेको छ ।
दैनिक १०० किलो मेवा प्रतिकिलो रु ५० का दरले बोटबाटै बिक्री भइरहेको उप्रेतीले बताए । उनले हालसम्ममा सात हजार किलो मेवा बिक्री गरिसकेको बताए । “अब चार हजार किलो बिक्री गर्न बाँकी छ”, उनले भने । रोपेको आठ महीनामै आम्दानी दिने गरेको मेवाखेतीबाट खर्च कटाएर रु पाँच लाख आम्दानी हुने गरेको उप्रेती बताउँछन् । उनले उत्पादन गरेको मेवा घरबाटै दमकस्थित अधिकारी फलफूल पसलका सञ्चालकले खरीद गर्दै आएका छन् । उनले भने, “माग धान्नै गाह्रो भयो, परीक्षणका लागि थोरै मात्र खेती गरेका थियौँ ।”
आधा दशकदेखि नर्सरी र कृषि क्षेत्रमा सक्रिय उप्रेतीले पहिलोपल्ट परीक्षणका लागि मेवाखेती गरिएको बताए । “मेवाखेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो”, उनी भन्छन्, “जन्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने गुण भएका कारण बजारमा यसको माग बढेको हो ।” मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा मेवाको व्यावसायिक खेती शुरु गरेको उप्रेतीले बताए । “यस वर्ष १० कठ्ठामा लगाएको छु, एक बिघा जमीनमा थप खेती गरेको छु”, उनले भने ।
यस्तै प्रेमसागर सापकोटाले वार्षिक रु ४० हजार प्रतिबिघाको दरले तीन बिघा जमीन भाडामा लिएर मेवाको सात हजार बिरुवा हुर्काएका छन् । उनले हुर्काएको मेवाको बोटमा एउटै मेवा तीन किलोसम्मको फलेको छ । “बिरुवा रोपेको छ महीनामै फल्न थाल्यो”, उनले भने, “नौ महीना भएपछि पाक्न शुरु भयो, बेच्न थालेका छैनौँ ।” उनका अनुसार मेवा किन्नका लागि काठमाडौँ र पोखराका व्यापारी आउने गरेका छन् । एउटै फल तीन किलोसम्मको हुने, एउटा बोटमा वर्षेनी १७५ किलोसम्म फल उत्पादन हुने र तीन वर्षसम्म बाह्रैमास फल लागिरहने भएकाले मेवाखेतीबाट मनग्य फाइदा हुने सापकोटाले बताए । उप्रेती र सापकोटाले प्राविधिक समस्या भने प्रशस्तै झल्नुपरेको छ ।
प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलवार २१:११