सुर्खेत । शनिबार बिहान सुर्खेत कारागारमा एकाबिहानै कर्णाली सरकारका मन्त्रीहरुसहितका सरकारी अधिकारीहरुको ताँती कारागारभित्र प्रवेश गर्यो । साथमा थिए सञ्चारकर्मी, साहित्यकार र आमन्त्रित केही स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधी ।
कारागार पर्खालको भित्तामा टाँगिएको पुस्तकालय उद्घाटनको ब्यानर र त्यसको मुनी बनाएको सानो मञ्च । अगाडिपट्टी लस्करै सालिन भएर बसेका कारागारका कैदी र बन्दीहरु । कारागारलाई ‘सुधार गृह’को रुपमा बिकास गर्ने उद्देश्य अनुरुप कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशबिक्रम शाहले झण्डै चार महिना अघि थालेको ‘कारागारमा पुस्तकालय अभियान’ शनिबार सुर्खेत कारागारमा पुस्तकालय उद्घाटन गरियो ।
कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुस्तकालयको उद्घाटन गरे । मानिसको मस्तिक परिवर्तनविना आमुल परिवर्तन सम्भव नहुने भन्दै उनले शिक्षाले मात्र मान्छेको मस्तिष्क परिवर्तन गर्न सक्ने बताए । सोचाइको आएको परिवर्तनले मात्र मुलुकको आमुल परिवर्तनका लागि सहयोग पुग्ने उनको भनाई छ । ‘शिक्षाले साँच्चिकै मान्छे बनाउँदछ भने मान्छेसंग मानव सभ्यता हुन्छ’ उनले भने, ‘हो त्यही मानव सभ्यताले नै हामी समृद्धि हाँसिल गर्न सक्छौ ।’ मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि बल प्रयोग मात्र गरेर हुँदैन, सकारात्मक र रचनात्मक कामले पनि शान्ति कायम गर्न सकिन्छ भन्ने उदाहरण पनि यो पुस्तकालय स्थापनाले दिएको उनले बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक बिकासमन्त्री दल रावलले कारागारलाई सुधार गृहको रुपमा बिकास गर्न कारागारमै सीपमुलक तालिमको व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको बताए । ‘तपाइँहरु चाहानु हुन्छ भने कारागारमा आवश्यक सीपमुलक तालिमको व्यवस्था गर्न सरकार छ’ उनले भने, ‘कारागारमा सीप सिकेर त्यसको उत्पादनले आय आर्जन गर्नका लागि पनि तपाईंहरुले सोच बनाउनु पर्दछ ।’ नेपालका राजनेताहरु वीपी कोइराला, प्रधानमन्त्री केपी ओलीले कारागारमै जीवनको धेरै समय व्यतीत गर्नु परेको सम्झना गर्दै उनीहरुको स्वअध्ययन सबैका लागि प्रेरणा बन्ने उनले बताए ।
‘कारागारलाई गुरुकुल सम्झेका छौ’
कारागारमा बन्दै जीवन बिताइरहेका धर्मराज बि.क.ले कारागारलाई गुरुकुलको रुपमा स्मरण हुने गरी सुर्खेत कारागारका कैदी बन्दीहरु लागेको बताए । ‘केही गल्ती, कमीकमजोरी, साथ संगत र परिबन्द जे सुकै कारण भए पनि हामी कैदी बन्दी बन्न पुगेका हौ’ उनले भने, ‘जेलभित्रको कष्टकर जीवन होइन, यहाँभित्र हामी सुखानुभुती गर्न सक्ने वातावरण पुस्तकालयले बनाएको छ ।’ जे जस्तो कारणले कारागार बस्नु परेको भए पनि कैद सजाय भुक्तान गरी समाजमा फर्किदा समाजले हेर्ने दृष्टिकोणमा पनि परिवतृन ल्याउने गरी कार्यक्रम गर्न उनले आग्रह गरे ।
कैदी बन्दीहरु पनि सजाय भुक्तान पछिको जिन्दगी समाजमा सम्मानित रुपमा विताउन चाहने उनले बताए । ‘हामी कसैले गल्ती नै गरेका हौला, कोही साथी संगतको कारणले त कोही परिबन्दमा परेर कारागारको जीवन जिउन बाध्य भएका हौ’ उनले भने, ‘जस्ले जे गरे पनि सजाय भुक्तान पछिको जिन्दगी राष्ट्र र समाजको बिकासका लागि लगाउन चाहन्छौ ।’ तर समाजले हेर्ने दृष्टिकोण बदल्नु पर्ने उनले बताए । कारागारमा खानेपानीको अभाव भएको भन्दै धारा जडान गर्न, कैदी बन्दीको आफन्तहरुसंग गोप्य भेटघाटको लागि व्यवस्था गर्न, न्याय प्रणालीलाई छितो छरितो बनाउन तथा कैदी बन्दीका लागि गाँस बास र कपासको पूर्ण ग्यारेन्टी गर्न सरकारसंग माग गरे ।
कर्णालीका सबै कारागारमा पुस्तकालय
शनिबार कर्णालीका सबै जिल्ला कारागारमा एकै साथ पुस्तकालय स्थापना गरिएको छ । ती सबै पुस्तकालयमा जिल्लास्तरमा संकलित पुस्तकहरु राखिएको छ । पुस्तकालय उद्घाटनसंगै शनिबार कर्णालीका कारागारमा साहित्यकारहरु र कैदी बन्दीको अन्तक्रिया गरिएको छ । बरिष्ठ साहित्यकार सनत रेग्मी, बरष्ठ उपन्यासकार एवम् कथाकार नयनराज पाण्डे, कवि नवराज पराजुली सुर्खेत जिल्ला कारागारका कैदी बन्दीसंग अन्तक्रिया गरेका छन् ।
निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटीले दैलेखमा, उपन्यासकार उमा सुवेदी र रामलाल जोशी सल्यानमा, कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा रुकुम (पश्चिम)मा गई कैदी बन्दीहरुसंग अन्तक्रिया गरेका छन् । त्यस्तै उपन्यासकार अर्चना थापा र सुविन भट्टराई जाजरकोट, उपन्यासकार युग पाठक कालिकोट, उपन्यासकार सिवानीसिंह थारु जुम्ला र उपन्यासकार तथा कथाकार अमर न्यौपाने डोल्पा पुगेका छन् ।
पुस्तकालयमा ८ हजार किताब
कारागारमा रहेका कैदी बन्दीहरुको बौद्धिक ज्ञानको बिकासका लागि नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कर्णालीका कारागारमा स्थापना गरिएका पुस्तकालयमा ८ हजार ३ सय ८८ पुस्तक राखिएका छन् । पुस्तकालयका लागि कर्णाली प्रदेश स्तरबाट ४ हजार २ सय ८२ र कर्णालीका विभिन्न जिल्लामा ४ हजार एक सय ६ पुस्तक संकलन गरिएको कारागारमा पुस्तकालय अभियानका संयोजक कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशबिक्रम शाहले बताए ।
कारागारमा पुस्तकालय अभियान अन्तर्गत एक्काइस लाख बढीका पुस्तकहरु संकलन गरेको अभियानका संयोजक शाहले बताए । ‘हामीले प्रदेश र जिल्ला तहमा गरी २१ लाख ८ हजार ८ सय ७२ रुपैयाँ बराबरका किताबहरु संकलन गरेका छौ’ उनले भने, ‘प्रदेशतहबाट नौ लाख अठ्सठ्ठी हजार ६ सय ७५ रुपैयाँ संकलन गरिएकोमा विभिन्न जिल्लाका ११ लाख ४० हजार १ सय ९७ रुपैयाँका किताब संकलन भएका छन् ।’
‘कारागार अपराधी थुन्ने ठाउँमात्रै होइन, चरित्र सुधार गर्ने ठाउँ पनि हो भन्ने कुरा वास्तविकतामा परिणत गराउन किताब जरुरी भएको हो’ उनले भने । कारागारमा स्थापना गरिने पुस्तकालयको संरक्षणको लागि ‘बुक क्लव’ गठन गरिएको छ । पुस्तकालयको संरक्षण र बिकासका लागि क्लव गठन गरिएको हो । क्लवले हप्तथामा एक दिन पुस्तकहरुको समिक्षा गर्ने र मासिक रुपमा सबैभन्दा बढी पुस्तक पढ्नेलाई पुरस्कारको व्यवस्था गरिने जनाइएको छ ।
प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार १६:२६