सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको सुमेरु होटलले ग्राहकहरुका लागि भन्दै अर्गानिक खाजाको रुपमा फापरको मम बनायो । त्यो मम कसैले खाएन । होटल संचालक शिवराज अधिकारीले फापरको मम आफुलगायत केही साथीभाइले निःशुल्क खाएर सकाए ।
मम मात्र होइन, अर्गानिक खाना भनेर होटलको मेनुमा राखिएपनि ग्राहकहरुले महँगो मानेर छनौट नगरेको होटल संचालक शिवराज अधिकारीले जनाए । मार्सी चामलको भात, लोकल कुखुराको मासु, कर्णालीका माछा, टिम्मुरको अचार, लोकल घीऊ हालेर बनाइएको अर्गानिक खानाको मूल्य करिव रु. ५०० जति पर्न जान्छ । महँगो मानेर अर्गानिक खाना नविक्दा होटलहरुले सस्तो खाना खाजा बेच्नु परेको उनले दुःखेसो सुनाए ।
सुर्खेतको सिद्धार्थ होटलले पनि अर्डर लिएर मात्रै अर्गानिक खाना बनाउने गर्दछ । पहिले नै बनाएमा खेर जाने डरले अर्डर आएमा बनाउन नत्र नबनाउने होटलका बजार प्रवन्धक दिपक जैसी बताउँछन् । अर्गानिक खानाका लागि आवश्यक पर्ने कच्चा पदार्थ सवै बाहिरबाट मगाउनु पर्ने भएकोले यसको शुल्क महँगो पर्ने र ग्राहको पहुँचभन्दा बाहिर हुने गरेको उनले जनाए ।
यसैगरी बेकरी व्यवसायी विपिन ठाकुरले फापर र कोदोबाट ब्रेड, पाउरोटी, केक र विस्कुट बनाउने गर्छन् । तर महँगो मानेर ग्राहकहरुले खरिद नगर्ने उनले बताए । फापर र कोदोको पिठो डेढ सयदेखि २०० रुपैयाँ किलो पर्ने र अन्य मैदा ५० रुपैयाँ किलो पर्ने हुँदा अर्गानिक खाजा महँगो हुने उनको भनाइ छ । जति अर्गानिक भनिएपनि कच्चा पदार्थको सहज उपलव्धता नभएसम्म सामान बनाएर बेच्न नसकिने ठाकुरको भनाइ छ । अर्गानिक खाना नविक्दा होटल र बेकरी व्यवसायीहरु निरास छन् ।
कर्णाली प्रदेशमा अहिले हरेक क्षेत्रमा अर्गानिकको लहर छ । भाषणमा अर्गानिक भनिएपनि व्यवहारमा भने अर्गानिक कठिन र महँगो भएको व्यवसायीहरु बताउँछन् । अर्गानिक सामान पाउन नसकिने, पाए किन्न नसकिने हुँदा महँगो भएको उनीहरुको भनाइ छ । सुर्खेतका होटल व्यवसायीहरुले कच्चा सामानको उपलव्धता सहज र सस्तो भएमा आफ्ना होटलहरुमा दैनिक अर्गानिक खाना र खाजाको मेनु राख्ने बताएका छन् । व्यवसायीहरुले अर्गानिक खानामा लाग्ने कच्चा पदार्थहरुको मूल्य कम गराउन र सहज उपलव्ध गराउने प्रदेश सरकारसंग माग गरेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशले अर्गानिक सामान र निर्माण गर्ने प्रविधिका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने जनाएको छ । प्रदेशको चिनारी केही हुन नसक्दा पहिचान झल्कन नसकेको भन्दै प्रदेश सरकार र उद्योगी व्यवसायीहरुको समन्वयमा त्यस्ता कामहरु गर्न आव्हान समेत गरेको छ ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेशको पहिचानका लागि उद्योगी व्यवसायी नै अग्रसर हुनुपर्ने सुझाव दिएकी छिन् । अर्गानिक प्रदेश बनाउने सरकारको लक्ष्य रहेको भन्दै उनले विषादि रहित उत्पादन र बजारीकरणमा जोड दिइन् । उनले प्रदेश राजधानीका होटलमा प्रदेशका चिनारीका रुपमा मार्सी चामल, सातु, जडिबुटीको चिया, टिम्मुरको अचार अनिवार्यरुपमा राख्नसमेत आग्रह गर्नुभयो । महँगो भएपनि अर्गानिक खानालाई सबैलाई बानी बसाल्न उनले जोड दिएकी छिन् ।
होटलहरुमा कोसेली गृह राख्न सुझाव
कर्णाली प्रदेश सरकारले प्रदेश राजधानीका राम्रा होटलहरुमा कोसेली गृह राख्न सुझाव दिएको छ । होटलभित्रै एउटा सानो स्थानमा कर्णालीको पहिचान झल्कने सामग्रीसहितको कोसेली गृह राख्दा ग्राहकहरुलाई सहज हुनेछ । यस कारणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रतिवद्धता जनाइन् ।
यसैगरी प्रत्येक होटलले आफ्नो तर्फबाट सातु, जडिबुटीको चिया निःशुल्क दिएर ग्राहकहरुलाई आफूतिर आकर्षित गर्न जोड दिएको छ । होटल, बेकरी उद्योगहरुले पनि सुरुमा थोरै मात्रामा भएपनि अर्गानिक उत्पादन र बजारीकरण गर्न सुझाव दिदैं मन्त्री केसीले लोकल कुखुरापालनलाई पनि प्रदेश सरकारले सहयोग गर्ने बताइन् ।
प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार ०८:२२