सुर्खेत । वीरेन्द्रनगरमा कुहिने फोहर व्यवस्थापन गरी अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यका साथ वीरेन्द्रनगर बजार क्षेत्रका घरको छतमा कौशि खेती थालिएको छ । वीरेनद्रनगर नगरपालिकाको वडा नम्बर ६ स्थित प्रगतिनगर टोल, शान्ती टोल र रामजानकी टोलमा फोहर व्यवस्थापनसँगै कौशि खेती गरिएको हो ।
फोहरलाई घरमै व्यवस्थापन गर्ने उद्देश्यले कौशि खेती गरिएको प्रगतिनगर टोलका वासिन्दा गोरख रावतले बताए । उनले घरमै कुहिएको फोहरलाई व्यवस्थापन गरेर अर्गानिक र ताजा तरकारी फलाउने गरेका छन् । उनले घरमा उत्पादन हुने फोहर चार वर्षदेखि नगरपालिकाको गाडीमा हालेका छैनन् । उनी भन्छन् ‘चार वर्ष भयो मैले नगरपालिकाको गाडीमा फोहर हालेको छैन, फोहरलाई घरमै व्यवस्थित गरी कौशि खेती गरेको छु ।’
रावतले फोहरबाट मल उत्पादन गरी कौशि खेती गरेका हुन् । अहिले उनले फोहरबाटै उत्पादन भएको मलमा अर्गानिक तरकारी तथा फलफुल उत्पादन गरेका छन् ।
सुरुमा ४० हजारको लागतमा फोहर व्यवस्थापनका सामग्रीहरु जोडेका रावतले आम्दानी गर्ने उद्देश्यले नभई फोहर व्यवस्थापन गर्न कौशि खेती सुरु गरेका हुन । ‘आम्दानी गर्ने मेरो उद्देश्य होईन,’ उनी भन्छन्, ‘फोहर व्यवस्थित पनि हुने र वातावरण पनि स्वच्छ हुने भएकाले कौशि खेती गरेको हुँ ।’ नगरपालिकाकै भर परेर घर अगाडि फोहर थुपार्ने हो भने नगरको सुन्दरता हराउँदै जाने रावतको टिप्पणी छ ।
रामजानकी टोलका जयनारायण लामिछानेले पनि आफ्नो घरमै फोहरबाट मल उत्पादन गर्छन् । ‘सबैले आफ्नो घरको फोहरलाई घरमै व्यवस्थापन गर्नेहो भने त ठुलो दुःख गर्नैपर्दैन,’ उनी भन्छन्, ‘नगरपालिका मात्रै होईन नागरिक पनि सफा शहर बनाउनेतर्फ लाग्नुपर्छ ।’
वडा नम्बर ६ का अध्यक्ष मोतिप्रसाद कंडेलले फोहर व्यवस्थापन गर्न बनेको कार्यविधि कार्यान्वयनको चरणमा पुगेको बताए । ‘घरदैलो कार्यक्रममा हिँडिरहेका छौँ,’ उनले भने, ‘सरसफाईको कार्ड वितरण गरेर जथाभावी फोहर नगर्न सुझाएका छौँ ।’ नगरपालिकाले तोकिएको स्थानबाहेक जथाभावी फोहर फालेमा पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने उनले बताए । पटक–पटक जथाभावी फोहर फाले पटकै पिच्छे दोब्बर जरिवाना र फोहर उठाउन लाग्ने खर्चसमेत नगर वा वडाले असुल उपर गर्न सक्नेछ । ‘नागरिकको सोचलाई परिवर्तन गर्न गाह्रो छ,’ उनले भने, ‘फोहर गर्नेलाई जरिवाना तिराएपछि केही परिवर्तन अवश्य आउँछ ।’
प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार १४:४०