सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा निर्माणाधीन सिटी बसपार्कको नयाँ वर्षसँगै सञ्चालनमा ल्याउने तयारी भएको छ । सिटी बसपार्क ९५ प्रतिशत निर्माण कार्य पूरा भएकोले नयाँ वर्ष देखि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । निर्माण कम्पनी चाङ्मिला/नरसिंह जेभीले बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
‘अहिले बसपार्कमा प्रमुख कामहरु सकिसकेका छौ । बसपार्कमा लाइट हाल्ने, फिनिसङि र फुटेका सामानहरु रिपियर गर्ने काम भइराखेको छ’ निर्माण व्यवसायी नरसिहं धामीले भने, ‘बाँकी काम जति सक्यो छिटो पुरा गरी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी लागेका छौँ । अधिकांश काम सकिसकेको छ । अब नयाँवर्षमा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ ।’
बसपार्क निर्माणका लागि २०७२ को माघमा नगर विकास समितिसँग ठेक्का सम्झौता भएको थियो । भ्याटबाहेक ६ करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो भने ०७४ असार मसान्तमा हस्तान्तरण गर्ने सम्झौता गरेको थियो । तर, अहिलेसम्म काम भने पुरा हुन बाँकी छ ।
बसपार्क क्षेत्रमा ५६ वटा सटरको अस्थायी टहरा बनाइएको छ । यात्रुलाई बस्न बेग्ला बेग्लै टर्मिनल, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, शौचालय लगायतका पूर्वाधार निर्माण भइसकेका छन् । निर्माणाधीन बसपार्कको क्षमता भने ९० वटा ठुला बस र २० वटा मिनी बस अट्न सक्ने छन् । बसपार्कको क्षेत्रफल करिव ४ हजार ५ सय वर्ग मिटर रहेको छ ।
यता, वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जति सक्यो छिटो निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरेको बताईन् । ‘दशैँ अगाडि नै सक्ने हाम्रो लक्ष्य थियो तर, अझै सम्भव भएन, सम्झौता मिति सकिएर पनि करिव डेढ वर्ष पुग्यो ।’ उनले भनिन, ‘हामीले निर्माण कम्पनीलाई पटक–पटक भनेकै छौँ काम छिटो सक्नु प¥यो भनेर । आशा गरौँ अब नयाँवर्षमा काम सकेर जति सक्यो छिटो बसपार्क सञ्चालन हुने छ ।’
प्रकाशित मिति: १७ चैत्र २०७५, आईतवार १६:५२