सुर्खेत । पञ्चपुरी नगरपालिकामा आठ ठूला आयोजना निर्माण हुने भएका छन् । नगरपालिकाको चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट खानेपानी, सडक र भवन निर्माणको काम हुन लागेको हुन् ।
पञ्चपुरी नगरपालिकाको वडानम्बर १ मा पर्ने सबैभन्दा ठूलो ३ करोडको रुपैयाँ लागतको हाँसेगाउँ–फाँसेकाँडा खानेपानी आयोजना निर्माणका लागि ठेक्का आव्हान गरिएको नगर प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए ।
त्यसैगरी पञ्चपुरीको दोस्रो ठूला बस्ती रहेको २ नम्बर वडा सालकोट बजारको सडक कालोपत्रे १ करोड ३३ लाख रुपैयाँको लागतमा जनसहभागिता समेत जुटाइ निर्माण गर्न लागिएको नगरप्रमुख थापाले जनाए ।
त्यस्तै पञ्चपुरी नगरपालिका वडानम्बर ९ मा राग खानेपानी आयोजना निर्माणका लागि १ करोड १४ लाख रुपैयाँको लागतमा ठेक्का भइसकेको नगर प्रमुख थापाले बताएका छन् ।
त्यसैगरी १ करोड रुपैयाँको लागतमा वडानम्बर ९ मा वडा कार्यालय भवन निर्माण, वडानम्बर ७ मा ८५ लाख रुपैयाँ लागतमा भक्तडी खानेपानी आयोजना, ५३ लाख रुपैयाँको लागतमा वडानम्बर ११ तातापानीमा ताउले खानेपानी आयोजना, वडानम्बर ६ मा ५० लाख रुपैयाँको लागतमा लाटीकाँडा खानेपानी आयोजना र वडानम्बर ४ मा ५० लाख रुपैयाँको लागतमा चनाली खानेपानी निर्माणका लागि ठेक्का भइसकेको नगर प्रमुख थापाले जानकारी दिए ।
नगरवासीले भोग्दै आएको खानेपानीको समस्यालाई ध्यानमा राखेर नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन गरेको र अहिले त्यसको कार्यान्वयन हुन लागेको नगर प्रमुख थापाले बताए ।
प्रकाशित मिति: १४ चैत्र २०७५, बिहीबार १७:१९