सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदीको पानी विगतदेखि अहिलेसम्म खेर गइरहेकोले यसलाई बेचेर डलर कमाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन कार्यक्रमको उद्घाट्न गर्दै उनले प्रदेश र मुलुकले खोजेको आर्थिक समृद्धि पानीबाट मात्रै सम्भव हुने हुँदा त्यसको सन्तुलित विकासमा ध्यान दिनपनि आव्हान गरे ।
मुख्यमन्त्री शाहीले शाहीले कर्णाली प्रदेशजस्ता विकट ठाउँमा विकास चाहिएको भन्दै विकासका मोडलहरुको अध्ययन र अनुसन्धान गर्न दाताहरुलाई सुझाव दिए । उनले भने ‘विकासका लागि अध्यन मात्रै नभई सुक्ष्म अनुसन्धान गर्न र त्यसबाट साझा निष्कर्ष निकालेर विकासका नमुना निर्माण गर्न सकिन्छ ।’
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले शिखर सम्मेलनमा कर्णाली नदीको इतिहास र विकासक्रमवारे थप प्रचार हुने अपेक्षा व्यक्त गरेभने जलस्रोत विज्ञ दिपक ज्ञवालीले नदीहरुको दोहन गरेर होइन संरक्षण गरेर विकास गर्नुपर्ने सुझाव दिए ।
जलस्रोत विज्ञ दिपक ज्ञवालीले नदीहरुको दोहन गरेर होइन संरक्षण गरेर विकास गर्नुपर्ने सुझाव दिए । नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले नेपालको सबैभन्दा लामो कर्णाली नदीमा धेरै धर्मको आस्था, मानसरोबर यसको मुहान, चीन, नेपाल र भारतसम्म बग्ने यो नदी धेरै सभ्यता र संस्कृतिको मुहान भएको र विश्व सम्पदामा प्रस्तावयोग्य भएकोले यसैबाट कर्णाली प्रदेशको पर्यटन र कृषिको अपार सम्भावना हुँदा कर्णालीमा नदी शिखर सम्मेलन गर्न लागिएको बताए ।
सुर्खेतमा उद्घाटन गरी दैलेखको राकम कर्णालीमा नदी सम्मेलनका अन्य कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । नेपाल नदी संरक्षण संस्थालगायत विभिन्न साझेदार तथा सहयोगी निकायको आयोजनामा यही चैत १४–१७ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाका साथै स्वदेशी र विदेशी वैज्ञानिक तथा वातावरणविद्को सहभागिता रहने संस्थाका सदस्य भक्तबहादुर शाहीले जानकारी दिए ।
प्रकाशित मिति: १४ चैत्र २०७५, बिहीबार १६:३८