प्रदेश नं ५ का १२ वटै जिल्लामा रहेका कृषि तथा पशुपन्छीसँग सम्बन्धित काम गर्ने सहकारी संस्थाहरूलाई कुनै नयाँ किसिमको रोजगारी वा उत्पादनमा अनुदान दिइने भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवलले आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यक्रम अनुसार लगानीको ५० प्रतिशतसम्म हुनेगरि अनुदान दिन लागेको हो। कृषि क्षेत्रमा कुनै नयाँ काम गर्न चाहने मानिसहरूलाई सहकारी मार्फत यो अनुदानको लागि आवेदन दिन सक्छन्।
कसकसले निवेदन दिन पाउँछन्?
- प्रदेश नं ५ का १२ वटै जिल्लामा रहेका कृषि तथा पशुपन्छीसँग सम्बन्धित काम गर्ने सहकारी संस्थाहरू
- सहकारी संस्था चालु आर्थिक वर्षभन्दा अगाडि दर्ता भएको हुनुपर्ने छ। जस्तै २०७५ को लागि आवेदन दिने सहकारी २०७५ असार भन्दा पहिलानै दर्ता गरिसकेको हुनपर्छ।
- तराई हो भने न्यूनतम ५०० शेयर सदस्य र पहाड हो भने ३०० जना शेयर सदस्य भएको सहकारी संस्था हुनुपर्छ
- कार्यक्रम माग गर्ने सहकारी ‘कृषि तथा बहुउदेशीय सहकारी’ संस्था हुनुपर्छ
निवेदन कहाँ बुझाउने?
प्रस्ताव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बुटवल अथवा सहकारी प्रशिक्षालय, बाँकेमा पनि बुझाउन सकिन्छ।
निवेदन बुझाउने अन्तिम मिति कहिले हो?
निवेदन यही मिति २०७६ वैशाख ७ गते भित्रमा बुझाइसक्नुपर्छ।
के कस्ता कामका लागि अनुदान दिइन्छ?
१. बृहत् उत्पादन सम्बन्धी कामहरू
२. प्रशोधन र प्याकेजिङ सम्बन्धी कामहरू
३. बजार विकास सम्बन्धी कामहरू
कति अनुदान दिइनेछ?
२५ लाख वा तपाईँलाई लाग्ने लगानीको ५०% सम्म अनुदान पाइन्छ। यदि लगानीको ५०% २५ लाखभन्दा कम हुन गएमा पनि २५ लाखसम्मको रकम पाइन्छ।
केके कागजात चाहिन्छ?
- संस्था दर्ता गरिएको प्रमाणपत्रको फोटोकपी
- संस्था नवीकरण गरिएको फोटोकपी
- संस्थाको स्थायी लेखा नम्बर प्रमाणपत्रको फोटोकपी
- गत आर्थिक वर्ष लेखा परीक्षण गराएको प्रमाणको फोटोकपी
- गत आर्थिक वर्षको कर चुक्ता गरिएको प्रमाणपत्रको फोटोकपी
- सहकारी संस्थाले अनुदान लिने भनेर गरिदिएको निर्णयको फोटोकपी
- सहकारी संस्थाले सञ्चालन गर्ने कार्यक्रमको व्यावसायिक योजना
- अनुसूची- २ अनुसारको निवेदन र अनुसूची-३ अनुसारको प्रस्तावना
कहाँ सम्पर्क गर्ने?
भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५,बुटवल, नेपाल : +९७७-०७१-५५००६८,५४००२६
इमेल :info@molmac.p5.gov.np
वेबसाइट : https://molmac.p5.gov.np/
सूचना जस्ताको त्यस्तै पढ्नका लागि तल दिइएको लिंकमा थिच्नुहोस्।
https://molmac.p5.gov.np/wp-content/uploads/2018/09/anusuchi1.pdf
प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार २१:२०