सुर्खेत । सुर्खेतमा निर्माणाधीन अत्याधुनिक सभाहलको काम तिव्रतामा अघि बढिरहेको छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७३ सालदेखि निर्माण थालिएको सभाहलको काम अहिलेसम्म ७० प्रतिशत सकिएको शहरी विकास तथा भवन निर्माण विभाग सुर्खेतका सव–ईन्जिनियर चन्द्र बहादुर खड्काले जानकारी दिए । उनले भने ‘कर्णाली प्रदेशकै सबैभन्दा पहिलो र सुविधा सम्पन्न सभाहल हो ।’
उनका अनुसार अहिले सभाहलको संरचना निर्माणको काम सकिएको छ । उनले भने ‘तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने तरिकाले कामलाई द्रुत गतिमा अघि बढाएका छौ ।’
समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभी, काठमाडौँलाई २०७३ चैत्र २४ गते सभाहल निर्माणको जिम्मा दिइएको थियो । सभाहलको जिम्मा पाएको समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभी, काठमाडौँले काम गर्ने समयमा कुनै समस्या नआएमा समयभन्दा अगावै सम्पन्न गरिने जनाएको छ ।
निर्माणाधीन सभाहल करिब ७ सय बढी अट्ने क्षमताको छ । सभाहलमा मल्टिप्रपोज हल, प्रशासनिक भवन, अपाङ्गमैत्री र करिब चार सय सवारी साधन पार्किङ्ग सुविधा रहने सव–इन्जिनियर चन्द्र बहादुर खड्काले जनाए । उनका अनुसार सभाहलमा दुईवटा गेट रहने छन् जसमध्ये एउटा मुख्य र अर्को साइट गेट बन्ने भएको हो ।
आखाँ अस्पताल पछाडी बन्ने साढे तिन विगाहा जग्गामा निर्माणाधीन सभाहल निर्माण कार्य सम्पन्न हुँदासम्म २० करोड ५४ लाख ८६ हजार लागत लाग्ने सव–इन्जिनियर खड्काले जनाए ।
यस्तै शहरी विकास तथा भवन निर्माण विभागले अहिले कर्णाली प्रदेशका सरकारी भवनहरुको निर्माण कार्यलाई तिव्रता दिएको छ । भर्खरै मात्र विभाग अन्तर्गत सुर्खेत जिल्लाका पा“च वटा भवन निर्माणको काम सम्पन्न भएको विभागका सव–इन्जिनियर खड्काले जानकारी दिए । उनका अनुसार मेहेलकुना सभाहल, नेटा हेल्थपोष्ट, गढी स्वास्थ्य चौकी, घुमखहरे स्वास्थ्य चौकी र रानीवास स्वास्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न भईसकेका छन् ।
शहरी विकास तथा भवन निर्माण विभागका सव–इन्जिनियर चन्द्रबहादुर खड्काले कर्णालीका चार जिल्लामा कारागार भवनको कार्यलाई पनि तिव्रता दिएको जनाए । सुर्खेत, सल्यान, रुकुम पश्चिम र कालिकोट कारागार भवन निर्माणका लागि प्रक्रिया अघि बढिरहेको उनले जनाए । ‘सुर्खेत कारागारको काम छिट्टै शुरु हुन्छ,’ उनले भने, ‘कालिकोटमा जग्गा थोरै छ तैपनि डिजाईन भईरहेको छ ।’ रुकुममा सर्भे भईरहेको भन्दै उनले सल्यानमा कारागार भवन निर्माणका लागि जग्गा प्राप्त नभएको बताए ।
प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलवार २०:५६