सुर्खेत । सुर्खेत तेलपानी भुरीगाउँ सडक निर्माणका लागि सुर्खेती जनताले आवाज उठाउन थालेको पनि दुई दशक नाघि सक्यो तर पनि तराई र भित्रि मधेश जोड्ने सुर्खेतीको यो छोटो सडक सपना अधुरै छ ।
कहिले वन तथा पर्यावरणको समस्या त कहिले बजेटको समस्या भोग्दै आएको सुर्खेत तेलपानी भुरीगाउँ सडकले निर्माण व्यवसायीको ढिलासुस्ती पनि खेपेकै हो । गत चार वर्षको अवधिमा त बजेट नै नपरेपछि सडक निर्माणको चर्चा हुने कुरो भएन ।
सरकारको प्राथमिकतामा नपर्दा कर्णाली प्रदेशलाई तराईंसँग जोड्ने छोटो दुरीको सुर्खेत तेलपानी भुरीगाउँ सडकको निर्माण कार्य चार वर्ष त ठप्प हुन पुग्यो । चार वर्ष देखि सरकारले बजेट नछुट्याएका कारण सडक निर्माणको कार्य हुन नसकेकाे डिभिजन सडक कार्यालय सुर्खेतले जनाएकाे छ ।
बर्दिया निकुञ्जको आम्बासादेखि सुर्खेतको तेलपानी हुँदै वीरेन्द्रनगरसम्मको ५२ किलोमिटर सडक खण्डको अधिकांश भागमा ट्रयाक खुलेपनि बजेटले निरन्तरता नपाउँदा निर्माणको काम पुरा हुन सकेको छैन । कर्णाली प्रदेशलाई तराईंका जिल्लासँग जोडेर पर्यटन तथा व्यापार व्यवसायका लागि महत्वूुर्ण मानिएको तेलपानी भुरीगाउँ सडक केद्रीय योजनामा समेत पर्न सकेन ।
अहिले यो सडक प्रदेश सरकारको ताराताल देखि रारा तालसम्मको सडक योजना पर्छ । तर अहिलेको बजेटबाट पनि ठेक्का हुने सुरसार छैन । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा तेलपानी भुरीगाउँ सडक निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेशका सांसद यामलाल कंडेलले कर्णाली प्रदेश र ५ नम्बर प्रदेशलाई जोड्ने सबैैभन्दा छोटो सडक भएकाले प्रदेश सरकारले उक्त सडक निर्माणमा ध्यान दिन आवश्यक भएको जनाए । उनले तेलपानी भुरीगाउँ सडक निर्माणका लागि पाँच करोड विनियोजन भएको र उक्त सडक निर्माणका लागि टेण्डर निकालेर सुर्खेतको मुलपानीबाट सडक निर्माणको काम सुरु गरिने बताए ।
भुरीगाउँ हुँदै सुर्खेत पुग्न ५२ किमि दूरी छ भने कोहलपुरबाट सुर्खेत पुग्न ८७ किमि टाढा पर्छ । करिब ४ दशकदेखि सडक निर्माणको माग सडक देखि सदनसम्म उठ्दै आएपनि अहिलेसम्म बन्न सकेको छैन ।
प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार १८:१०