सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका युवानेता दण्ड ढकालले युवालाई राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक भएको बताएका छन् ।
साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवाशक्ति राष्ट्र निर्माणको प्रमुख माध्यम भएको बताउँदै उनले युवाले पर्याप्त अवसर नपाउँदा मुलुकले अपेक्षित लाभ लिन नसकेको बताए । नेपाल विद्यार्थी संघ सुर्खेतले शनिबार वीरेन्द्रनगरमा “राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा युवाको भुमिका विषयक बिचार गोष्ठी कार्यक्रममा ढकालले सो कुरा बताएका हुन् । उनले मुलुक सङ्घीय संरचनामा गइसकेको अवस्थामा युवाको भूमिका केन्द्रदेखि स्थानीय स्तरसम्म नै स्पष्ट हुनुपर्ने जनाए । उनले भने ‘युवालाई राष्ट्र विकासको मुख्य संवाहक शक्तिका रूपमा स्वीकार गरिएको छ ।’
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वद्यिालयका नेबिसंघका नेता रामचन्द्र भण्डारीले मुुलुक आर्थिक विकास र समृद्धितर्फ अग्रसर भएको अवस्थामा युवाको महत्व र महत्वपूर्ण भूमिका हुनुपर्ने बताए । उनले युवा पलायन रोक्ने, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, गुणस्तरीय र सुलभ शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने, युवाको उद्यमशीलता विकास गर्ने लगायतमा जोड दिन आवश्यक रहेको जनाए । उनले भने ‘युवाको क्षमता विकास र राष्ट्र उत्थानमा अवसर दिन प्रशस्त लगानी गर्न आवश्यक छ ।’
नेपाली कांग्रेस सुर्खेतका जिल्ला सदस्य नवलदेब गिरीले युवामा गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव, लैङ्गिक, क्षेत्रीय, जातीय असमानता जस्ता कुराहरु युवाका प्रमुख समस्या भएको बताए । यस्तो अवस्थामा मुलुकभित्र रोजगारीका यथेष्ट अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमै युवाहरु निर्भर रहनुपर्ने अवस्था रहेको उनले जनाए ।
कार्यक्रममा नेबिसंघका नेता सुरेन्द्र काफ्ले, भुपेन्द्र आचार्य, सबिन शर्मा, नबिन शाही, तरुण दल सुर्खेतका जिल्ला सचिब कृष्ण भण्डारी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ सुर्खेतका सदस्य तथा युवा नेता ललितदेब भट्टराईले आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम नेपाल विद्यार्थी संघका नेता पिताम्वर ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार १८:१२