सुर्खेत । मातृशिशु स्वास्थ्य हेरचाहमा विशेष ध्यान दिन सुर्खेतमा हरियो झण्डा अभियान सुरु गरिएको छ । नमूनाका रुपमा दुई वडाका गर्भवती महिला र दुईवर्ष मुनिका शिशु भएका घरमा हरियो झण्डा गाडेर संकेत दिने हरियो झण्डा अभियान वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाबाट पहिलो पटक सुरु गरिएको हो ।
गत महिना देखि सञ्चालन गरिएको अभियान अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको २ र पञ्चपुरी नगरपालिकाको ५ नम्बर वडामा गर्भवती तथा सुत्केरी महिलाका घरमा हरियो झण्डा गाडिएका छन् । झण्डा गाडिएका घरमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले स्वास्थ्य सेवामा ध्यान दिने छन् । नियमित गर्भजाँच, आमा र बच्चाको स्वास्थ्य, पोषण, खोप तथा अन्य अवस्थाको बिशेष जानकारी राख्न र चेकजाँचमा सहयोग पुर्याउन हरियो झण्डालाई संकेतका रुपमा गाडिएको हो ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाकी स्वयंसेविका निर्मला सिंहले नियमित गर्भ जाँच नगराउँदा महिलाहरु जोखिममा पर्ने गरेको हुनाले यस्तो अभियान सुरु गरिएको बताउँछिन । उनले गर्भावस्थामा महिलाको खानपान र स्याहारमा ध्यान दिन जरुरी रहेको बताउँदै आमा र बच्चाको ज्यान जोगाउने दायित्व पुरा गर्न अभियान सञ्चालन गरेको बताइन् । उनले भनिन् ‘आमा र बच्चाको ज्यान जोगाउने हाम्रो दायित्व हो ।’
पञ्चपुरी नगरपालिकाकी गौरी तारामीलाई गर्भवती हुँदा स्वास्थ्य चौकीमा गएर जाँच गराउन अप्ठयारो लाग्थ्यो, जब उनलाई जनप्रतिनिधिसहित स्वास्थ्य स्वयंसेविकाले झण्डा गाडेर समय–समयमा सुझाव दिएपछि उनको सोचाइ बदलिएको छ । ‘घरमै दिइएको सुझावले मलाई स्वास्थ्य केन्द्रमा सुत्केरी हुन प्रेरणा दियो, ’तारामीले भनिन् । हरियो झण्डा देख्नेबित्तिकै स्वास्थ्य जाँचबारे सम्झिएपछि शिशु हेरचाह र सरसफाइमा आफैं सचेत भएर लागेको उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिका नगर स्वास्थ्य शाखा प्रमुख उदय थापाले गर्भावस्थाको पहिचान भएपछि स्वास्थ्य स्वयंसेविका गएर घरमा झण्डा गाड्ने गरेको जानकारी दिए । घरमा झण्डा गाड्ने अभियानले गर्भवतीको हेरचाहमा परिवारलाई समेत जिम्मेवारी बोध गराउन मद्दत गरेको उनले बताए ।
उनका अनुसार हरियो झण्डा बच्चा जन्मेर दुईवर्षको पूगेपछि वडा कार्यालयले गठन गरेको पोषण सुरक्षा समितिले निकाली दिन्छ । हरियो झण्डा गाड्ने बिधिले मातृ–शिशु स्वास्थ्य जोखिम कम हुनुका साथै पोषणमा पनि सुधार आउन सक्ने उनले बताए । दुवै वडाका गर्भवती र दुईवर्ष मुनिका शिशु भएका एक सय ६५ घर पहिचान भइसकेका छन् ।
प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार १४:५२