विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागुपूर्णिमा (होली) पर्व २०७५ को अवसरमा स्वदेश था विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राईले आज जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, असत्यमाथि सत्यको विजयको पर्वका रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो, रङको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने मैले विश्वास लिएको छु । हाम्रा चाडपर्वले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउँदै एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्न अभिप्रेरित गरिरहेको छ ।
यस पर्वले सबै नेपालीमा खुशीका रङहरु छर्दै नयाँ उत्साह र उमङ्गका साथसबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै प्रदेशको विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने उत्प्रेरणा हामी सबैमा मिलोस् भन्ने शुभकामना मुख्यमन्त्री राईले व्यक्त गरेका छन् ।
होली मिलन समारोह
जीपी कोइराला फाउण्डेशन प्रदेश नं १ कार्यालय विराटनगरले आज यहाँ होली मिलन समारोहको आयोजना गरी भव्यरुपले फागु पर्व मनायो ।
‘एकता र सामाजिक सद्भावको प्रतीक’ रहेको होली पर्वले सबैलाई सुख, शान्ति र उत्तरोत्तर प्रगति रहन सफलता मिलोस् शुभकामना पनि सहभागीले आदानप्रदान गरेका थिए ।
कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, उपसभामुख सरस्वती पोखरेल, प्रदेश सभासदस्य सावित्रा रेग्मी, बिन्दीया कार्की, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का विनोद ढकाल, प्रदेश प्रमुख सचिव केदार न्यौपाने, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, आन्तरिक मामिला तथा कानून सचिव गोपाल पराजुली, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, चिकित्सक, सञ्चारकर्मीको उपस्थिति थियो ।
प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार १२:४०