काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल छन् ।
बैठकले नियमावली मस्यौदा समिति गठनसमेत गरेको छ । विधान अनुसार पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति गठन गरिएको हो । समितिको सदस्यमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल रहेका छन् ।
आजैको बैठकले पार्टी केन्द्रीय अनुशासन समितिलाई समेत पूर्णता दिएको छ । पार्टीको विधान अनुसार सोमबार भीष्मराज आङ्देम्बेको संयोजकत्वमा गठित समितिलाई आजको वैठकले पूर्णता दिएको हो । समितिको सदस्यमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल छन् । बैठकले अघिल्लो अनुशासन समितिमा रहेका संयोजक रमेश रिजाललगायत सदस्यलाई धन्यवादसमेत व्यक्त गरेको छ ।
बैठकले विखण्डनको बाटो परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधान भित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिबारे रहेका गम्भीर विरोधाभासलाई स्पष्ट गर्न सरकारसँग माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सम्झौताको दुई साता पुग्दासम्म जनअभिमतमा आधारित लोकतान्त्रिक विधिको व्याख्या नगरिनु आपत्ति जनक भएको काङ्ग्रेसले जनाएको छ । यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन आह्वानसमेत गरेको छ ।
“निषेधको बाटोलाई होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न सरकारसँग काङ्ग्रेस आग्रह गर्दछ”, प्रवक्ता शर्माले भने । राष्ट्रिय संवेदनशीलताका विषयमा निर्णय लिनुअघि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई सरकारले त्याग गरेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको छ ।
काङ्ग्रेसले अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य मान्यता र समृद्धिको बाटोमा लैजान प्रेरित गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ ।
प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार २१:११