सुर्खेत । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्यको ब्रेक थ्रु को तयारीमा रहेको छ । शुरुङ निर्माण कार्यको ब्रेक थ्रु चैत भित्र गर्ने गरी आयोजनाले निर्माण कार्यलाई युद्ध स्तरमा बढाएको छ ।
चार वर्षमा काम पुरा हुने गरी शुरु भएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ एक वर्ष अगावै पुरा हुने भएको छ । सरकारको महत्वाकांक्षी योजनाको रुपमा प्रस्तुत गरिएको उक्त आयोजना नेपालकै नमूना आयोजनाको रुपमा काम हुन थालेका छ । त्यति मात्र नभई टनेल बोरिङ मेशिन प्रयोग गरिएको भेरी–बबई नेपालकै पहिलो आयोजना हो ।
ठूला आयोजनाहरुमा अनियमितता, छानवीन, उजुरी, ढिलासुस्तीका कारण समयमा काम नहुने अवस्था आउन नदिई आयोजनाको शुरुङ निर्माणको काममा प्रगति हुनुले सबैलाई उत्सुकता र चासो हुनु स्वाभाविकै हो । यसले धेरैको ध्यान पनि खिचेको छ ।
आयोजनाको शुरुङ निर्माण शुरु भएको ३५ महिनामा ११ किलोमिटर ६ सय मिटर शुरुङ निर्माण कार्य सम्पन्न भएको आयोजनाका इन्जिनियर हरि खनालले बताए । यो अवधिमा एक महिनामा एक किलोमिटर ६२ मिटरसम्म शुरुङ खनेको आयोजनाले जनाएको छ ।
२०७२ चैत २१ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडलाई दिएको थियो ।
बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने र बाह्रै मास ४८ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको बहुउद्देश्यीय राष्ट्रिय गौरबको आयोजना हो । भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ । बबई सिँचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बाँकेको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्ने छ ।
चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा पावरहाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा ४८ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
आयोजनाले ठेकेदार कम्पनीलाई १० अर्ब ५७ करोड रुपैयाँमा सुरुङ निर्माणको ठेक्का दिएको थियो । इन्टेक र पावरहाउसको लागत जोड्दा आयोजना सम्पन्न गर्न करिब ३३ अर्व रुपैयाँ लाग्ने इन्जिनियर खनालले जानकारी दिए ।
प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार १०:०५