सुर्खेत । सरकारी कार्यालयको भवन निर्माणमा कतिसम्मको लापर्बाही हुन्छ भन्ने नमूना कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमै देख्न सकिन्छ । तीन सरकारी भवन निर्माणको जिम्मा एउटै ठेकेदार कम्पनीलाई तर, ती सबै कार्यालय भवन निर्माणको काम अधुरै ।
तीन वटै सरकारी कार्यालयको भवन निर्माण कार्यका लागि सम्झौता गर्ने जिएम कन्स्ट्रक्सन कम्पनी बीचमै काम बन्द गरी हिंडेको मारमा भवन निर्माणमा परेको छ । बीचै काम बन्द गरेका कारण अलपत्र परेका सरकारी भवन कहिले पुरा हुने हुन्, त्यो हेर्न बांकी छ ।
जिएम कन्स्ट्रक्सन कम्पनीले जिल्ला प्रशासन कार्यालय सुर्खेत र तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतबाट साढे तीन करोड रुपैयाँ भुक्तानी लिएको हो । काम पुरा नगरी निर्माण कम्पनी हिँडेपछि सुर्खेतका तीन सरकारी भवन सात वर्षदेखि अलपत्र छन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रत्यक्ष निगरानीमा निर्माण थालिएका विपद् व्यवस्थापनको गोदामसहित तीन भवनको काम सात वर्षदेखि अलपत्र परेको हो । २०६८ सालमा विपद व्यवस्थापन गर्न आवश्यक सामग्री राख्न जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रत्यक्ष निगरानीमा गोदाम घर निर्माण गर्न जिएम कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरिएको थियो ।
यसैगरी जिल्ला कारागार र कट्कुवा हेल्थ पोष्टको भवन निर्माणको जिम्मा पनि जिएम कन्स्ट्रक्सन कम्पनीले नै लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले निर्माण व्यवसायीलाई पटक–पटक पत्र पठाए पनि सम्पर्कमा नआएको बताउँछन् । ठेक्का तोडेर जिएमबाट भुक्तानी लिएको रकम असुल गरी नयाँ ठेक्का प्रक्रियाबाट काम अघि बढाउने तयारी भईरहेको उनले जनाएका छन् ।
अधिकृत शर्माका अनुसार जिएम कन्स्ट्रक्सन कम्पनीले विपद् व्यवस्थापनको गोदाम निर्माणका दुई करोड ९८ लाख ५ हजारमा सम्झौता गरि एक करोड २६ लाख ६० हजार भुक्तानी लिएको छ । करिव ४५ प्रतिशत काम पुरा गरि एक करोड २६ लाख ६० हजार भुक्तानी लिएर सो कम्पनी सम्र्पक विहिन बनेको हो ।
यसैगरी जिल्ला कारागारको करिब २ करोड ३६ लाख ९८ हजारमा सम्झौता गरी एक करोड ७७ लाख ४३ हजार र कटकुवा हेल्थपोष्टको एक करोड एक लाख ५३ हजारमा सम्झौता गरी ५३ लाख ७४ हजार भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ ।
संंघिय आयोजना ईकाई सुर्खेतका प्रमुख जगदिश लामिछानेले निर्माण व्यवसायीका लापरवाहीका कारणले भवन निर्माणको काम अहिलेसम्म ठप्प भएको बताए । भवन निर्माणको जिम्मा लिएको जिएम कन्स्टक्सन कम्पनीले तोकिएको समयमा काम पुरा नगरेपछि निर्माण कम्पनीलाई कालो सुचिमा राख्न सिफारिस सहित ठेक्का तोड्ेर नयाँ टेण्डरबाट काम सुरु हुने उनले बताए । बारम्वार सम्पर्ककालागि सुचना र पत्राचार गर्दासमेत निर्माण व्यवसायी सम्पर्कमा नआएपछि कालो सुचीमा राख्न सिफारिस गरिएको प्रमुख लामिछानेले बताए ।
प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार ०९:५२