सुर्खेत । स्थानीय स्तरमा उत्पादन भएको तरकारीले राम्रो बजार नपाउँदा सुर्खेतका किसान निराश भएका छन् । भारतीय बजारबाट आउने तरकारी सस्तो र सहुलियतमा आउन थालेपछि स्थानीय उत्पादन संकटमा पर्न थालेको हो । जिल्लामा उत्पादन भएको तरकारीले भारतीय बजारबाट आयात भएको तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले किसानलाई थप समस्या भएको किसानहरुको गुनासो छ ।
फाइल फोटो
भेरीगंगा नगरपालिका वडा नं. ४ हर्रेका पवन खत्रीले आफुले उत्पादन गरेको तरकारीले बजारभाउ नपाउँदा घाटामा तरकारी बेच्नु परेको दुखेसो गर्छन । उनले भने ‘तरकारीमा धैरै लगानी लगाइन्छ, तर झन घाटामा तरकारी बेच्नु परेको छ ।’ उनले आफूले महिनौँ लगाएर उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउँदा मर्कामा परेको बताउँछन् । उनका अनुसार स्थानीय स्तरमा उत्पादन भएको तरकारीले भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएको हुँदा समस्या उत्पन्न भएको छ ।
आर्थिक तथा भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका सर्वसाधारणको आर्थिक जोहो भनेकै कृषि हो । भारतबाट भित्रिने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्दा यहाँका कृषकले आफूले उत्पादन गरेको तरकारी घाटामा बेच्नु परेकोे बाध्यता छ । स्थानीय उत्पादन महँगो पर्ने हुँदा उपभोक्ताको रोजाइ पनि आयातीत तरकारीमा हुने गरेको छ ।
व्यावसायिक कृषि फार्मबाट ठूलो परिमाणमा उत्पादन गरिएका भारतीय तरकारी आकर्षक र मूल्य सस्तो हुने भएपछि स्वदेशी किसान समस्यामा परेका छन् । सुर्खेतमा तरकारीको माग बढ्दो भए पनि थोरै परिमाणमा उत्पादन गरिएका तरकारी महंगो हुँदा भारतीय तरकारीले बजार पाउने गरेको छ ।
फलफुल तथा तरकारी व्यापारी टेकबहादुर खत्रीका अनुसार यहाँका किसान आधुनिक प्रविधिको अभावमा परम्परागत खेती गर्न बाध्य छन् । जसका कारण पनि भारतिय बजारबाट आउने गरेको तरकारीसँग स्थानीय उत्पानले प्रतिस्पर्धा गर्न नसकेको बताउँछन् । उनले स्थानीय उत्पादनभन्दा भारतीय तरकारी सस्तो हुने भएपछि यहाँका व्यापारीले दैनिक दश लाख रुपैयाँ बराबरको तरकारी भित्र्याउने गरेको बताउँछन् ।
भुमीव्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाले कर्णालीमा प्रदेश सरकारले अर्गानिक कृर्षी खेतीलाई पहिलो प्राथामिकतामा राखेको बताए । उनले स्थानिय उत्पादनलाई बढावा दिनका लागि मन्त्रालय अन्तरगत अनुदानका कार्यक्रमहरु सञ्चालन गरिने बताए । कृषकहरुलाई आधुनिक तरकारी खेती गर्नका लागि सिपमुलक कार्यक्रमहरु ल्याइने उनले बताए ।
सुर्खेतको स्थानिय उत्पादन वार्षिक २ सय मेट्रिक टन रहेको छ भने भारतीय बजारबाट १० हजार ९ सय मेट्रिक टन तरकारी सुर्खेत भित्रिने गरेको छ ।
प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार १५:०८