सुर्खेत । केन्द्र, प्रदेश र स्थानीय जतासुकै अहिले नेकपाको दुई तिहाईको सरकार छ । स्थानीय तहको निर्वाचन भएको करिव दुई बर्ष र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएको एक बर्ष नाघिसकेको छ । अहिले अर्को चुनाव आउन पनि धेरै समय बांकी छ ।
तर चुनावको झल्को दिने गरी कांग्रेसका केन्द्रीय तथा जिल्ला नेताहरु यतिबेला सुर्खेतका गाउँगाउँ पसेका छन् । उनीहरुको गाउँ घुमाइले गाउँमा रहेका कार्यकर्ताहरुलाई हौसला मात्र होइन, संगठन क्रियाशील बनाउन वल पुगेको छ । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी, पूर्वमन्त्रीद्वय शिवराज जोशी, खड्गबहादुर बस्याल, कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीलगायतका जिल्लास्तरका नेताहरुको टोली सुर्खेतका दुर्गम गाउँगाउँमा पुगेका छन् ।
सुर्खेतका करिव सवै स्थानहरुमा पुगी कार्यकर्ताहरुसंग भेटघाट गरी कांग्रेसको अवस्था बुझ्न र सरकारले के कस्ता कामहरु गरेको छ, सोको वारेमा बुझेका छन् । नेताहरुको यो गाउँ घुमाइले पार्टीको आन्तरिक निर्वाचनको भने झझल्को दिन थालेको छ । गाउँ घुमाइका वेला नेताहरुले वडातहबाटै सशक्त र जनताको साथमा उभिन समेत निर्देशन दिएका छन् ।
कांग्रेसलाई वडा तहबाटै बलियो बनाउनका लागि हौसला दिन र पछिल्लो समय कांग्रेसको महासमिति बैठकले पारित गरेका निर्णयहरुवारे जानकारी दिन पनि गाउँगाउँ गएको कांग्रेस सुर्खेतले जनाएको छ । कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले केन्द्रीय नेताहरुले गाउँगाउँका कार्यकर्ताहरुसंग भेटघाट गर्दा उनीहरुलाई ऊर्जा प्राप्त हुने बताए । गाउँको विकास निर्माण र संगठन विस्तारको निरीक्षणपनि हुने भएकोले अहिले पार्टी विशेषगरी गाउँकेन्द्रीत भएको जानकारी सभापति रेग्मीले दिए । सो क्रममा कांग्रेसको क्रियाशील सदस्यता पनि वितरणको कामलाई जारी राखिएको उनले बताए ।
गाउँमा कांग्रेसका कार्यकर्ताहरु निर्वाचनमा पराजित भएपछि निरास भएपनि अहिले भने बडास्तरमा सशक्तरुपमा जुर्मुराएको पाएको सभापति रेग्मीले बताए । कार्यकर्ताहरुले कांग्रेसका शीर्ष नेतृत्वहरुलाई एक ढिक्का भएर अगाडि बढ्न सुझाव दिएको जानकारी दिदैं सभापति रेग्मीले संगठन विस्तारको काममा पनि सक्रिय भएर लागेको जनाए । गाउँमा कार्यकर्ताहरुसंग भेटघाटका साथै महासमितिको बैठकले पारित गरेका निर्णयहरुलाई पनि कार्यकर्तामाझ जानकारी गराउन गाउँ पसेको सभापति रेग्मीले बताए । वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो कार्यकर्ताहरुले गरेको उनले उल्लेख गरे ।
प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार १२:५६