सुर्खेत । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा आपराधिक गतिविधिहरुलाई निस्तेज पार्न सरकार कठोररुपमा प्रस्तुत हुने बताएका छन् । उनले छिटफुटमा केही आपराधिक गतिविधिहरु भइरहेपनि त्यसलाई निस्तेज पार्न सरकार कठोर रुपमा लागेको उल्लेख गरे ।
कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिवार सुर्खेत आएका गृहमन्त्री थापाले आपराधिक तत्वलाई तह लगाउन सरकार कठोरतापूर्वक अगाडि बढेको बताए । उनले अहिले धेरै ठूलो समस्या नदेखिएपनि केही सुरक्षा चुनौती थपिएको स्वीकार गर्दै सरकार शान्ति सुरक्षा कायम राख्न कठोर बन्ने उल्लेख गरे ।
उनले विप्लव समूहको ध्वंसात्मक गतिविधिलाई विस्तार गर्न नदिने जिकिर गर्दै सरकार कठोर रुपमा प्रस्तुत भएपछि त्यो समूह पनि निस्तेज हुने दावी गरे । सरकार शान्ति सुरक्षाका लागि पूर्णरुपमा प्रतिवद्ध भएको र सरकारले चालेका कदमहरुलाई सहयोग गर्न जोड दिए । ध्वंसात्मक र आपराधिक गतिविधि गर्नेहरुलाई कतिपयले संरक्षण र उन्मुक्ति दिएका कारण उनीहरुको हौसला बढेको उल्लेख गर्दै तर सरकार भने त्यस्ता कार्यका विरुद्ध कठोर हुने उल्लेख गरे । विप्लव समूहको ध्वंसात्मक गतिविधि धेरै नटिक्ने उनले बताए ।
शान्ति र विकासका साथै संघीयतालाई चुनौती दिने खालका गतिविधिहरु सरकारलाई सह्य नहुने भन्दै गृहमन्त्री थापाले त्यस्ता कार्यलाई पूर्णरुपमा नियन्त्रण गरिने जानकारी दिए ।
उनले तराईमा बिखण्डनको गतिविधि गरिरहेका सिके रावतलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन सरकार सफल भएको जिकिर गर्दै एक पछि अर्को समस्याहरु हल गर्न सरकार सफल भएको बताए ।
सरकारको एक बर्षे कार्यकाल सफल भएको दावी समेत गृहमन्त्री थापाले गरेका छन् । उनले यो एक बर्षको अवधिमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्ने काम सफलतापूर्वक सम्पन्न भएको, देशका लागि चाहिने आवश्यक कानुन तयार भएको, विकासका लागि आवश्यक पूर्वाधार र योजनाहरु निर्माण गरिएको बताए । गत विहीवारदेखि सुर्खेतमा कर्णालीको सुरक्षा प्रमुखहरुको गोष्ठी चलिरहेको छ । उनले मुलुक तथा प्रदेशको शान्ति सुरक्षाको लागि कुनैपनि सम्झौता नगर्न निर्देशन दिए ।
प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार १७:३९