सुर्खेत । गुर्भाकोट नगरपालिका ७ कोप्चीकी मैनकला कामीको दैनिकी पानीको जोहोमै वित्ने गर्दछ । घर नजिकै पानीको स्रोत नहुँदा उनलाई त्यहाँबाट एक घण्टा हिडेर गोचेखोला पुगेर एक ग्रागी पानी ल्याउनु पर्ने बाध्यता रहेको छ । उनी भन्छिन ‘हामीलाई पानी ल्याउन नै दुई घण्टा लाग्छ, आउने जाने गरेर नै दुई घण्टा लागिहाल्छ । अरु काम त झन कतिबेला सक्नु र ?’
यस्तै विहान उठ्ने वितिकै अरु काम भन्दापनि पानीको जोहो गर्न निकै हतार हुन्छ सोही ठाउँकी पार्वती सुनारलाई उनले भनिन ‘हामीलाई अरुभन्दा पनि पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता हुन्छ । घर घरमा धारा भइदिएको भए पानीको यतीको दुख भोग्नु पर्थेन होला ।’ कोप्ची सुर्खेतको पुर्वी ठाउँ मेहेलकुना नजिकै पर्छ ।
नगरपालिकाका ३३ हजार चारसय १८ घरधुरीमा खानेपानी पु¥याउने लक्ष्यसहित ७१ करोड १८ लाख ९८ हजार ६३२ रुपियाँको चार पक्षीय सम्झौता आयोजना सम्झौता भएको छ ।
गुर्भाकोटमा रहेका गुर्भाकोट नगरपालिका ६, ७, ८ र ९ नम्बर वडाका ३ हजार २०० घरधुरीका लागि घर-घरमा धारा पु¥याइने सम्झौता भएको हो । गुर्भाकोट नगरपालिकामा पर्ने उक्त उपत्यकाका लागि ‘सुभाघाट सहरी खानेपानी तथा सरसफाइ आयोजना’ निर्माण हुने भएको हो ।
बुधबार एक कार्यक्रमका बीच आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, गुर्भाकोट नगरपालिका र सुभाघाट खानेपानी उभोक्ता समितिका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
खानेपानी तथा सरसफाइ आयोजनाबाट उपत्यकामा पर्ने स्वच्छ खानेपानी उपलब्ध गराइने आयोजना निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष एवम् गुर्भाकोट नगरपालिकाका उपमेयर मैना विकले जानकारी दिइन् ।
क्षेत्रीय खानेपानी आयोजनाका प्रमुख पूर्णप्रसाद उपाध्यायका अनुसार सम्झौतापछि अबको केही दिनमा नै आयोजना निर्माणका लागि ठेक्का आह्वान गरिँदै छ । हालको सर्वेक्षण अनुसार आयोजनाबाट १७ हजार १९७ जनसंख्या लाभान्वित हुने उनले बताए ।
आयोजना अन्तर्गत उपत्यकामा रहेका घरहरूमा ३ हजार २ सय ५१ धारा जडान गरिने छ ।
२० वर्षभित्र ६ हजार ४ सय धारा वितरण गर्न सकिनेगरी आयोजना निर्माण गर्ने आयोजनाका प्रमुख उपाध्यायले जनाए । उनका अनुसार १६ हजार ७३१ मिटर पानीको प्रसारण लाइन रहने छ भने वितरण लाइन १ लाख १३ हजार ३ सय ४० मिटर रहने छ ।
चालू आर्थिक वर्षबाट नै निर्माण कार्य सुरू भई आर्थिक वर्ष २०७७-७८ मा सम्पन्न गर्नेगरी सम्झौता गरिएको उपाध्यायले जानकारी दिए ।
७१ करोड १८ लाख ९८ हजार ६३२ रुपैयाँ लागतमा निर्माण हुने आयोजनाका लागि ५ प्रतिशत लगानी उपभोक्ताको रहने उपभोक्ता समितिका अध्यक्ष मैना विकले जानकारी दिइन् । जसअनुसार ३ करोड ५५ लाख ६५ हजार ९३१ रुपैयाँ उपभोक्ताको लगानी रहने छ भने नगर विकास कोषबाट २५ प्रतिशत ऋण लिइने छ। त्यसमा १७ करोड ७८ लाख २९ हजार ६५८ रुपैयाँ ऋण कोषबाट लिइने छ ।
यस्तै, आयोजना निर्माणका लागि लाग्ने लागतमध्ये ७० प्रतिशत नेपाल सरकारको अनुदान रहने छ । जसअनुसार अनुदानस्वरूप ४९ करोड ७९ लाख २३ हजार ४३ रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने क्षेत्रीय खानेपानी आयोजनाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
सुभाघाट सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सात वटा ट्यांकी निर्माण गरिने छ । दुइटा प्रशोधन केन्द्र निर्माण गरिनेछ । सात वटा ट्यांकीको क्षमता १० करोड ९० लाख लिटर रहने छ । आयोजना निर्माणको लागि लाग्ने सोही लागतभित्र संस्थाको भवन, भवन वरिपरिको पर्खाल पनि निर्माण गरिने जनाइएको छ ।
आयोजनाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि चाहिने जमिन सम्बन्धित स्थानीय सरकारले उपलब्ध गराउने छ ।
खानेपानी आयोजनाका लागि मुख्य स्रोतका रूपमा भने भेरी नदी रहेको आयोजनाबाट लाभान्वित क्षेत्र गुर्भाकोट वडा नम्बर ९ मा रहेको आयोना निर्माण उपसमितिका उपाध्यक्ष कमानसिं विकले जानकारी दिए । भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत् लिइने उनले बताए ।
प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहीबार १८:२६