सुर्खेत । नेपाल पत्रकार महासंघले प्रदेश सरकारले ल्याएका प्रेस सम्वन्धी कानुनहरु प्रेसमैत्री बनाउने सम्वन्धमा सुर्खेतमा सोमवार राय सुझाव संकलन गरेको छ । महासंघका केन्द्रीय महासचिव रमेश विष्टको नेतृत्वमा आएको मिडिया मिसन टोली सो सुझाव संकलन गरेको हो ।
टोलीलाई कर्णाली प्रदेश सरकारले ल्याएको संचार विधेयक संचारकर्मीहरुसंग समन्वय नगरी ल्याएको, आफू अनुकूल बनाउन खोजेकोजस्ता सुझाव सुर्खेतका संचार सम्वद्धहरुले दिएका छन् ।
पत्रकार महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणि गौतमले कर्णाली प्रदेश सरकारले संचारमाध्यमलाई नियन्त्रण गर्न घुमाउरो पाराले विभिन्न शव्दहरु घुसाएको टिप्पणी गरेका छन् । प्रदेश सरकारले आफू अनकूल गराउन र प्रेसलाई अंकुश लगाउन हतारहतारमा संचार विधेयक ल्याएको आरोप उनले लगाए ।
पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष पीताम्बर ढकालले सरोकारवाला पक्षहरुको राय सुझाव नलिइकनै प्रदेश सरकारले संचार विधेयक ल्याउनुमा केही षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरेभने संचारकर्मी टिका विष्टले पनि प्रदेश सरकारले ल्याएको प्रसारण विधेयकमा सच्याउनुपर्ने बुँदाहरु धेरै रहेको बताइन् ।
महासंघका केन्द्रीय महासचिव रमेश विष्टले संघ, प्रदेश र स्थानीय सरकारहरुले प्रेसमाथि कुनै न कुनै तवरबाट अंकुश लगाउने कानुनहरु ल्याउन खोजेको हुँदा त्यसका विरुद्ध खबरदारी गर्न महासंघ मिडिया मिसन बनाएर जिल्ला तथा प्रदेश दौडाहामा आएको बताए । कर्णाली प्रदेश सरकारले ल्याएको प्रसारण विधेयकमा पनि प्रेस विरोधी बुँदाहरु रहेका भए सच्याउन आग्रह गरिने महासचिव विष्टले जनाए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, सुर्खेत शाखाका पूर्व अध्यक्ष कमलेश डीसी, प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दीपेन्द्र शर्मा, जिल्ला अध्यक्ष गणेशकञ्चन भारती, अकोरावका सूर्यप्रकाश कँडेललगायतले विभिन्न रायसुझाव दिएका थिए ।
प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार १९:३२