सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेको संख्या ह्वात्तै बढेको छ । विगतका वर्षहरूको तुलनामा भन्दा यो वर्षको सात महिनाको अवधिमा करीब दोब्बर व्यक्ति लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक प्रदिपबहादुर क्षेत्रीले आर्थिक वर्ष २०७३-०७४ सालमा ५२ ग्राम ७७४ मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको जानकारी दिएका छन् । उनका अनुसार सोही आर्थिक वर्षमा कोरेक्स ५ लिटर लागूऔषध २५२ ट्याब्लेट बरामद गरेको थियो । उक्त आर्थिक वर्षमा ३३ जना पुरुष तथा २ जना महिला पक्राउ परेको प्रहरी नायव निरीक्षक क्षेत्रीले जनाए ।
आर्थिक वर्ष २०७४-०७५ मा प्रहरीले ५१ जना पुरुष र पाँच जना महिलालाई लागूऔषध ओसारपसार तथा कारोबारको अभियोगमा पक्राउ गरेको प्रहरी नायव निरीक्षक क्षेत्रीले बताए । उनले भने ‘यो झण्डै अघिल्लो आर्थिक वर्षको भन्दा करीब दोब्बर हो ।’ सोही आर्थिक वर्षमा प्रहरीले ४८ केजी चरेश बरामद गरेको थियो भने ५८.७२४ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरी नायब उपरीक्षक क्षेत्रीको भनाइ छ ।
चालु आर्थिक वर्षको सुरूवाती सात महिनामा गत वर्षको भन्दा दोब्बर व्यक्ति पक्राउ परेका छन् । लागूऔषध मुद्दामा अहिलेसम्म ८७ जना पुरुष र १४ जना महिला पक्राउ परेको नायब उपरीक्षक क्षेत्रीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्म ६४.५४० ग्राम ब्राउनसुगर, चरेश ४.७० ग्राम, गाँजा १८१.५ ग्राम र लागुऔषध निट्राभेट–१० नामक १५७ ट्याब्लेट बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले लागुऔषधको कारोबारमा सुर्खेत पहिलेदेखि हव भएको बताउँछन् । ‘सुर्खेत योभन्दा पहिले लागूऔषधको हव थियो ।’ उनले दावी गर्दै भने, ‘यो प्रहरीको सक्रियताका कारण बढी समातिएको हो, हामीले यसको नियन्त्रण गर्न लागूऔषधमा काम गर्ने प्रहरीलाई महिनामा लागूऔषध उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेर उत्साहित तुल्याउँदै आएका छौं ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतले भदौदेखि उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार १३:३६