सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्रका सडकमा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउन वीरेन्द्रनगर नगरपालिकाले निकै सास्ती खेप्नु परेपनि बजार नजिकका वडाहरुमा भने वडावासीले स्वस्फूर्त हटाउन सुरु गरेका छन् । बजार क्षेत्रमा डोजर लगाएर हटाएपनि वडा नं. ४ र ९ मा भने वडावासीले स्वस्फुर्त हटाएर नगरपालिकालाई सहयोग गरेका छन् ।
बजारसंग सीमाना जोडिएको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का बासिन्दाहरुले हटलाइन सडकमा अतिक्रमण गरी बनाइएका संरचनाहरु स्वस्फूर्तरुपमा हटाएका छन् । नगरपालिकाले गत माघ २१ गते अतिक्रमित सडक खाली गराउन सूचना जारी गरेपछि अतिक्रमण गरी संरचना बनाएकाहरुले धमाधम ती संरचनाहरु हटाउन लागेका हुन् ।
सूचनामा खोर्केखोलाको रातोपुलदेखि पश्चिम रेडियो नेपालको उत्तरपश्चिम खोलासम्मको हटलाइनमा ३० मिटर सडकको दुवै तर्फको भूभागमा अतिक्रमण गरी बनाइएका घर टहरालगायतका संरचनाहरु हटाउन उल्लेख गरिएको थियो । यदि नहटाएमा नगरपालिकाले हटाउने र क्षतिको जिम्मा नलिने जनाएपछि वडाबासीहरुले आफै ती संरचनाहरु धमाधम हटाइरहेका छन् । सडकको ३० मिटरभित्र पर्ने क्षेत्रमा होटल, पसल, घरको पर्खाल, करेसावारीहरु बनाइएका थिए । अतिक्रमण गरी हटाउन थालेपछि हटलाइन सडक चौडा देखिएको छ ।
वडाबासीहरुले सडक अतिक्रमण गरी बनाएका संरचनाहरु आफै हटाउन लागेकोमा वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनाल पनि दंग छन् । उनले कुनैपनि वडाबासीले यसविषयमा विवाद गर्न नआएको र आफैले धमाधम हटाउन लागेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘वडाबासीले आफै जानेर हटाएका छन्, हामीले दवाव दिनुपरेको छैन ।’ चौडा सडक बनाउन वडाबासीले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे ।
यसैगरी वीरेन्द्रनगर बजारक्षेत्रको दक्षिण सीमानामा पर्ने वडा नं. ९ मा पनि यस्तै काम भएको छ । मंगलगढी चोकदेखि लाटिकोइलीसम्म करिव तीन किमी सडकको २५ मिटर क्षेत्रभित्र पर्ने संरचनाहरु स्थानीयले आफै हटाएका छन् । वडाअध्यक्ष सुरेश मानन्धरको अगुवाईमा निर्विवाद सडक चौडा पार्ने काम भइरहेको छ । अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउन गरिएको आग्रह अनुसार वडाबासीले सहजै स्वीकार गरेका छन् । आफ्नो ठाउँको विकासका लागि सहयोग गर्नु सवैको कर्तव्य भएको वडा नं. ९ का स्थानीय लोकजंग रोकायाले बताए ।
विभिन्न वडाबासीले नगरपालिकालाई गरेको सहयोगप्रति नगरपालिकाले पनि धन्यवाद जनाएको छ । नगरप्रमुख देवकुमार सुवेदीले विना कुनै दवाव र रोकावटका साथ अतिक्रमण गरी बनाइएका संरचनाहरु आफै हटाइएकोमा खुशी व्यक्त गर्छन् । कानुन अनुसारको काम गरेर नगरलाई समृद्ध बनाउन सवै वडाबासीबाट यस्तै सहयोगको अपेक्षा गरिएको उनले बताए । केही वडाहरुमा सहजै हटाइएपनि केही स्थानहरुमा भने हटाउन नगरपालिकालाई सास्ती हुने गरेको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहीबार १३:१३