सुर्खेत । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको ७ सहिनामा झण्डै एक करोड राजश्व संकलन गरेको छ । दुर्घटना न्यूनिकरणका लागि सक्रिय ट्राफिक प्रहरीले आर्थिक वर्षको फागुन १ गतेसम्ममा ९० लाख ८२ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिबहादुर विसीले दिएको जानकारी अनुसार सात महिनामै राजश्व संकलनको लक्ष्य पुरा गरेको छ । गत वर्ष ट्राफिक प्रहरीले ८७ लाख ८९ हजार रुपैयाँ मात्रै संकलन गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिबहादुर विसीले चालु आर्थिक वर्षको सात महिनामा १५ हजार सवारी चालकले ट्राफिक नियम उलंघन गरेको बताए । उनका अनुसार गत श्रावण महिनामा १ हजार ४ सय ४१ जना कारबाहीमा परेका छन् ।
भदौ महिनामा १ हजार ६ सय ९७ जना, असोजमा १ हजार ८ सय १५ जना, कात्र्तिकमा २ हजार २ सय ९० जनाले ट्राफिक नियम उलघंन गरेका ट्राफिक नियम उलघंन गरेका छन् ।
मंसिर महिनामा २ हजार ५ सय ७ जना, पौषमा २ हजार ८ सय ७३ जना, माघमा २ हजार २ सय ८९ जनाले र फागुनको पहिलो दिनमै ८१ जना सवारी चालकले ट्राफिक नियम उलंघन गरेका छन् । ट्राफिक नियम विपरित सवारी चलाउँदा चालु आर्थिक वर्षमा ३४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा २१ जनाले अकालमा ज्यान गुमाएका छन् भने १ सय ३७ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरी प्रमुख विसीले सवारीको चापसँगै ट्राफिक नियम उलघंन र सवारी दुर्घटना बढ्दै गएको जनाए ।
१५ हजारलाई अभिमूखिकरण
बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि अन्तर्रा्ष्ट्रिय ट्राफिक नियम लागु गरेको ट्राफिक प्रहरीले करिव १५ हजार नागरिकलाई अभिमूखिकरण गरेको छ । कर्णालीमा पहिलो पटक अन्तर्रा्ष्ट्रिय ट्राफिक नियम लागु गरेपछि प्रहरीले जनचेतना अभियानलाई समेत तिब्रता दिएको हो ।
प्रहरीले १४ हजार ९ सय ५१ जनालाई अन्तर्रा्ष्ट्रिय नियम सिकाएको छ । विभिन्न स्थानमा ३ सय २५ पटक कार्यक्रम गरेरे सवारी चालक, यातायता व्यवसायी, टिकट काउन्टरका कर्मचारीलाई ट्राफिक नियम सिकाएको हो ।
ट्राफिक प्रमुख विसीका अनुसार पहिलो चरणमा सवारी चालकलाई कसरी बाटो काट्ने भनेर सिकाउन थालिएको छ। ‘नयाँ ट्राफिक नियम सिकाउन जिल्लाका १३ वटा इकाइबाट हामी सडकमा पुगेका छौँ ।’ विसीले भने ‘दुर्घटना न्यूनिकरण र सवारी आवागमनलाई व्यवस्थित यो नियम लागु गरेका हौँ ।’
लागु भएको अन्तर्रा्ष्ट्रिय नियमअनुसार ओभरटेक गर्दा जुन साइडबाट ओभरटेक गर्न खोजेको हो त्यही साइडको लाइट बाल्नु पर्नेछ । ओभरटेक गर्न दिने गाडीचालकले ओभरटेक गर्ने साइडको ठिक विपरित साइड लाइट बाल्नु पर्नेछ ।
ओभरटेक गरीसकेपछि आफूले सकुसल पार गरिसकेको जानकारी दिन विपरित साइडतिरको लाइट बाल्नु पर्नेछ । सुर्खेतका पहिलो पटक अन्तर्रा्ष्ट्रिय ट्राफिक नियमको लागु गरिएको हो ।
प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार १४:०९