सुर्खेत । जल तथा मौसमसम्बन्धी पूर्वसूचना दिने नेपालकै पहिलो मौसमी राडार केन्द्र कर्णालीमा बनेपनि प्रयोगमा आउन सकेको छैन । राडार बन्दै गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने निर्णय सरकारले गरेको थियो ।
सरकारले गरेको यो निर्णयसँगै अहिले सुर्खेतको रातानाङ्गला डाँडामा विश्व बैङ्कको ऋण तथा अनुदान सहयोगमा अमेरिकाको ‘इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशन कम्पनी’ले राडार केन्द्र निर्माण गरेको हो । झन्डै २ महिना अघि निर्माण कार्य सकेको निर्माण कम्पनीले राडार हस्तान्तरण गर्ने निकाय नपाउँदा अन्योलमा छ ।
झन्डै १९ करोड लागतमा निर्माण कार्य सकिएको राडारसँग सम्बन्धित निकाय नहुँदा अहिले अलपत्र जस्तै बनेको छ ।
राडार स्थलसम्मको पहुँचमार्ग निर्माण लगायतका सम्पूर्ण काम निर्माण कम्पनीले सकिसकेको छ । ३१५ मिटर लामो पहुँचमार्ग निर्माण गर्ने, राडार स्थल वरिपरि तारबार गर्ने, चौकीदार भवन बनाउने, गेट बनाउने काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि दलबहादुर बिसीले बताए ।
गत असारमा सरकारले जल तथा मौसम विज्ञान विभाग मातहतका क्षेत्रीयस्तरका कार्यालयलाई यथावत् राख्ने निर्णय गरेको थियो । तर, ऊर्जा मन्त्री वर्षमान पुनको प्रस्तावमा गत असोज २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय उल्ट्याएर क्षेत्रीय हावापानी कार्यालय कोहरलपुर सार्ने निर्णय गरेपछि अहिले अन्योलता बल्झिएको छ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जुकुमार वैद्यले राडार प्रयोगमा आइसकेको दाबी गरेका छन् । ‘राडारलाई काठमाडौँबाटै हेर्न सकिने भएकाले हामीले प्रयोगमा ल्याइसकेका छौँ,’ उनले भने, ‘सुर्खेतको क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने निर्णय भए पनि राडार सञ्चालनको लागि सुर्खेतमा सानो युनिट राख्न आवश्यक छ ।’
उनका अनुसार अहिले सातवटै प्रदेशमा हावापानी कार्यालय राख्ने पहल भइरहेको छ ।
कर्णाली प्रदेश सरकारले क्षेत्रीय हावापानी कार्यालय कोहलपुर नसार्न केन्द्र सरकारसँग आग्रह गरेको सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘हाम्रो क्याबिनेट बैठकले समेत कर्णालीमा भएको एक मात्र हावापानी कार्यालय नसार्न केन्द्र सरकारलाई पत्राचार गरिसकेका छौँ’ उनले भनिन् ।
प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार १५:३३