सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाली कांग्रेस सुर्खेतले सम्मान गरेको छ । मंगलवार पार्टी कार्यालयमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले प्रदेश राजधानीको उद्योग बाणिज्य संघले गर्ने हरेक गतिविधि अन्य जिल्लाको लागि अनुकरणीय हुनुपर्ने भन्दै यहाँ हुने आर्थिक विकासको हरेक कामको नेतृत्व लिनुपर्ने उल्लेख गरे ।
कर्णाली प्रदेशमा बाँके र बर्दिया आउन चाहेकोले आवश्यक परेको खण्डमा त्यसको नेतृत्व पनि संघले नै गर्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्र राजनीतिक क्षेत्रको बलियो सहयोगी भएको बताउँदै नेता थानीले संघलाई सवै उद्योगी व्यवसायीहरुको साझा थलोको रुपमा लैजान जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारीले उद्योगी व्यवसायीहरुको हितमा लाग्न नयाँ नेतृत्वलाई सुझाव दिदैं साझा बन्न आग्रह गरे । उनले प्रदेश राजधानीमा लगानी भित्र्याउने वातावरण बनाउन पनि जोड दिए ।
संघका नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतले सुर्खेतमात्र नभइ प्रदेशको आर्थिक बिकासका लागि संघले आफ्नो भूमिका सक्रिय बनाउने प्रतिवद्धता जनाए । उनले सम्पूर्ण उद्योगी व्यवसायीहरुको हितका पक्षमा काम गर्ने भन्दै कसैलाई पनि आग्रह पूर्वाग्रह नराखिने बताए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा पूर्व मन्त्रीद्वय शिवराज जोशी, खड्बहादुर बस्याल, नेविसंघका केन्द्रीय सदस्य हरि शर्मा, नेपाल ट;ेड युनियन कांग्रेसका कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरी, कांग्रेस सुर्खेतका सचिव भूपेन्द्र खत्री, तरुण दलका पूर्व केन्द्रीय सदस्य डण्ड ढकाल, नेता पदमराज जोशीलगायतले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका थिए ।
प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार १७:०९