सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सरकारले लिएको गलत बाटोलाई ट्रर्याकमा ल्याउन कांग्रेसले आन्दोलन गर्नु परेको बताएका छन् ।
सरकार विरुद्ध नेपाली काँग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको विरोध सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य थानीले चेतावनी शैलीमा भने, ‘नेपानी कांग्रेसले सडक समात्दैन, नेपाली कांग्रेसले सडक समात्यो भने कसैलाई उम्किन दिँदैन ।’
कांग्रेस केन्द्रीय सदस्य थानीले मुलुकमा हत्या, हिंसा, भ्रष्टाचारको सीमा नाघेको, अपराधीहरुलाई कारबाही गर्नुको साटो पुरस्कृत गरेको, जनता असुरक्षित भएको भन्दै पूर्व मन्त्रीसमेत रहेका नेता थानीले बरु मन्त्री, नेता र राष्ट्रपतिलाई विलासी बनाउँदै लगेको आरोप लगाए ।
उनले संघीय सरकारमात्र होइन प्रदेश सरकार पनि भ्रष्टाचारमा डुबेको उल्लेख गर्दै उनले बजेट हुँदा पनि काम गर्न नसक्दा अहिले प्रदेश सरकारमा अनुभवहीनहरुको जमात भएको बताए । ठूलो त्यागबाट सुर्खेत कर्णाली प्रदेशको राजधानी भएको तर अहिले एक बर्षको अवधिमा विकासको नाममा एउटा सिन्कोसमेत भाँच्न नसकेको जनाए ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवराज जोशीले नेकपाले लोकतान्त्रिक पद्दति नै मास्न लागेकोतर्फ चिन्ता व्यक्त गरे ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य दीनवन्धु श्रेष्ठले कम्युनिष्टहरु बनाउन नजान्ने, ध्वंशमात्रै गर्न सक्ने भएको बताए । उनले प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार पनि गम्भीर हुन नसकेको भन्दै कामै गर्न नसकेर बजेट फ्रिज गइरहेको उल्लेख गरे ।
दुई तिहाईको दम्भमा सरकारका गतिविधि गलत बाटोबाट अगाडि बढिरहेको भन्दै नेपाली कांग्रेसले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरोधसभा गरेको हो । सरकारले भ्रष्टाचार र बलात्कारीलाई संरक्षण गरेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् ।
नेपाली कांग्रेसलाई सिध्याउने खेलमा लागे दुई तिहाईको दम्भमा बनेको कम्युनिष्ट सरकारको उधोगति लाग्ने विरोधसभाका सहभागी नेताहरुले बताए । मुलुकमा बढेको हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको तथा लोकतान्त्रिक मुल्य र परम्परा विपरित सरकारले आफ्ना गतिविधि अगाडि बढाएको कांग्रेस नेताहरुले आरोप लगाएका छन् ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको विरोध सभामा पूर्व राज्य मन्त्री खड्कबहादुर बस्याल, प्रदेश सभा सदस्य यज्ञबहादुर विसी, नेपालीस् कांग्रेस मुगुका सभापति खड्गबहादुर शाही, उपसभापति टेकबहादुर सिंह, क्षेत्रीय सभापतिहरु लालबीर भण्डारी, नारायणकुमार कोइराला, खड्ग पोखरेल, महिला संघकी केन्द्रीय कोषाध्यक्ष जानकारी सिंह, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छवि सिग्देल लगायतले सरकारले जनताको पक्षमा काम गर्नुको साटो महंगी, हत्या हिंसा र बलात्कारीकाे संरक्षण गरेकाे आरोप लगाए ।
प्रकाशित मिति: २१ माघ २०७५, सोमबार १७:०७