सुर्खेत । राज्यले जेष्ठ नागरिकका लागि अधिकार र सुविधा दिए पनि त्यसको सही कार्यान्वयन नहुँदा सुविधा भन्दा बढी जेष्ठनागरिकले सास्ती भोग्दै आएका छन् । वास्तवमा जेष्ठ नागरिक परिवारका मात्र होइनन्, समाज र देशका अभिवावक हुन् । राज्यले दिएको सेवासुविधापनि पाउन नसकेको जेष्ठ नागरिकले गुनासो गरेका छन् ।
७३ बर्षिय जेष्ठ नागरिक मदन बहादुर खड्काले समाज र राष्ट्रका लागि आफूहरुले योगदान दिएको भए पनि सरकारले नै आफूहरुको बेवास्ता गरेको दुखेसो पोखे । उनले केन्द्र र प्रदेश सरकारले मात्र नभएर अहिले आँगनमै रहेका स्थानिय सरकाले पनि आफूहरुको हितमा कुनै काम गर्न नसकेको गुनासो गरे ।
उनी जस्तै धेरै जेष्ठ नागरिकहरु संविधानमा नै उल्लेख गरिएको सेवा सुविधाबाट बञ्चित भइरहेका छन् । अर्का जेष्ठ नागरिक स्वरस्वती सिहंले लामो समयदेखि आफूहरु समाज र परिवारभित्र सम्मानपुर्वक रुपमा बाँच्न पाउनुपर्ने बताइन् । उनले राज्यले दिने गरेको सेवा सुविधा सहजै रुपमा पाउन नसक्दा आफुलाई गाह्रो हुने गरेको गुनासो गरिन् । स्थानिय सरकारले आफुहरुलाई बेवास्ता गरेको उनले दुखेसो पोखिन् ।
पछिल्लो समय जेष्ठनागरिकले आफ्नो अधिकारका लागि बारम्बार संघर्ष पनि गर्दै आएका छन् । तर त्यसको कुनै सुनुवाई भने राज्यले गरेको छैन । केन्द्र, प्रदेश तथा स्थानिय सरकारले पनि बेवास्ता गरेको जेष्ठनागरिकको दुखेसो छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकका लागी आधारभुत औषधी, स्वास्थ्य शिविरको व्यवस्था गरेको जनाए । उनले प्रदेशमा रहेका वृद्धाआश्रमको स्तरोन्नती गराउने देखि लिएर जेष्ठ नागरिकलाई कसरी व्यवस्थित र सम्मानित गराउन सकिन्छ भनेर छलफल गरेर कार्यविधि बनाउने बताए । मन्त्री रावलले प्रदेशमा रहेका प्रत्येक जेष्ठ नागरिकका लागि सार्वजनिक यातायातमा निशुल्क गराउने बजेट ल्याएको र यसको कार्यान्वयन छिटै हुने बताए ।
जेष्ठ नागरिकका अधिकार प्रत्याभुत गर्दै राज्यले उनीहरुको ज्ञान र सीप हासिल गर्न सकेमा समाज विकासको गति तीव्र हुनेछ भने जेष्ठ नागरिकलाई पनि सम्मानपुर्वक बाँच्न सक्ने वातावरण निर्माण हुनेछ ।
प्रकाशित मिति: १३ माघ २०७५, आईतवार १५:०६