सुर्खेत । वीरेन्द्रनगरको मुख्य बजारको मंगलगढी चोकमा भएको अस्थायी बसपार्कमा चालकदेखि पैदलयात्रुले हैरानी खेपिरहेका छन् । अस्थायी बसपार्कमा गाडी पार्किङको समस्या छ भने, यात्रुलाई समेत कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पछिल्लो समय बढ्दै गएको सवारी साधनको चाप र सर्वसाधारणको चापले साँघुरो बसपार्क खचाखच भरीभराउ हुने गरेको छ । यसरी सवारी र यात्रुको चापले बजारको मुख्य चोक नै अस्तव्यस्त बनेको छ।
बसपार्कमा भेटिएका चालक नरेन्द्र रेग्मीले पार्किङ नहुँदा निकै समस्या भएको बताउँछन् । ‘बसपार्क सानो छ । ९-१० वटा गाडी राख्यो भने राख्ने ठाउँ नै हुँदैन,’ उनले भने,‘छेउछाउका सडकमा राख्दै आएका छौँ । अहिले धुलो धुँवा र वर्षातमा हिलोले निकै समस्या बनाएको छ ।’
उनले फेरि थपे,‘गाडीको भिडभाड भएर गाडी तर्काउनै समस्या हुन्छ । बसपार्कमा आवतजावत गर्ने पैदल यात्रु उत्तिकै हुन्छन् ।’
बसपार्क जति सक्यो छिटो बने गाडी चालकदेखि यात्रुलाई सहज हुने उनी बताउँछन् । ‘बसपार्क छिटो बने सबैलाई सजिलो हुने थियो ।’ उनले भने,‘बसपार्क फराकिलो भए दुर्घटनाको जोखिम पनि कम हुन्छ ।’
कांक्रेविहार यातायात व्यवसायी संघ सुर्खेतका सचिव रमेश सापकोटाले अहिले अस्थायी बसपार्कमा गाडी व्यवसायीले निकै दुःख भोग्नुपरेको दुखेसो पोखे । ‘बसपार्क व्यवस्थित भएको भए व्यवसायीले गाडी ढुक्क भएर चलाउन पनि सजिलो हुन्छ । अहिले डराई डराई गाडी चलाउनु पर्ने बाध्यता छ ।’ उनले भने,‘दुर्घटना हुने जोखिम छ एकातिर भने गाडीका ऐना फुट्छन्, गाडीभित्र बाहिर गर्दा समेत गाडी ठोक्किने हुन्छ । बसपार्क साँघुरो हुँदा निकै समस्या भएको छ ।’
निर्माणाधिन सिटी बसपार्क निर्माण कार्य सकेर छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने उनी बताउँछन् । उनले भने ‘बसपार्क बनाउने धेरै काम भइसकेको छ । अव बाँकी काम छिटो भन्दा छिटो सकेर सञ्चालनमा ल्याउन सरोकारवाला लाग्नुपर्छ ।’
प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार १२:४५