सुर्खेत । सुर्खेतका स्थानीय तहहरु यतिबेला आ आफ्ना पालिकामा नयाँ सडकहरु बनाउन तल्लीन रहेका छन् । स्थानीय तहको निर्वाचन भएको डेढ बर्षको अवधिमा सुर्खेतका नौ वटै स्थानीय तहहरुले झण्डै ५०० किमी नयाँ सडक निर्माण गरेको जनाएका छन् ।
ती स्थानीय तहले पहिले नै खनिसकेका सडकमा ग्राभेल गरेका छन् । तर त्यो भने नयाँको तुलनामा निकै कम छ । झण्डै ५० किमी सडकमा मात्रै ग्राभेल गरिएको छभने कालोपत्रे केवल चार किमी मात्रै गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले मात्रै चार किमी सडक कालोपत्रे गरेका छ । नगरपालिका भन्दा गाउँपालिकाले नयाँ सडक खन्ने कामलाई प्राथमिकता दिएका छन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले करिव २०० किमी नयाँ सडक खनेको छ ।
पुरानो भन्दा नयाँ सडक खन्ने कामलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । उनले चालु आर्थिक बर्ष र आगामी बर्षलाई सडक बर्षको रुपमा मनाउने निर्णय भएकोले अहिले धमाधम नयाँ सडकहरु खनेर गाउँ गाउँमा सडक पु¥याउने काम गरिएको जनाए । नयाँ सडक खन्ने कामसमेत भएकोले गाउँपालिकाले एउटा डोजर, एउटा स्काभेटर र दुई वटा टिप्पर खरिद गरेको छ ।
यस्तै लेकबेसी नगरपालिकाले पनि २१६ किमी सडक खनेको छ । यसमा धेरैजसो नयाँ सडक खनिएको छभने केही मात्रामा मात्रै ग्राभेल गरेको छ । नगर प्रमुख गगनसिंह सुनारले नगरपालिकाले सडकलाई प्राथमिकतामा पारेको बताउँछन् । उनले नयाँ र पुराना गरी २१६ किमी सडक खनिएको जानकारी दिए । उनका अनुसार त्यो मध्ये धेरै नयाँ सडक नै खनिएका छन् ।
पञ्चपुरी नगरपालिकाले ८५ किमी नयाँ सडक र ९ किमी ग्राभेल सडक निर्माण गरेको छ । नगर प्रमुख उपेन्द्रबहादुर थापाले कूल बजेटको ४५ प्रतिशत सडकमै खर्च गरिएको जानकारी दिए । उनले नगरपालिकाले सडक नपुगेका वडा नं. १, ७, १० र ११ नम्बरमा सडक पु¥याउन सफल भएको बताए ।
प्रदेशकै सवैभन्दा ठूलो वीरेन्द्रनगर नगरपालिकाले ११ किमी मात्रै सडक बनाएको छ । नयाँ र ग्राभेल गरी सात किमी र कालोपत्रै चार किमी सडक निर्माण गरेको नगरप्रमुख देवकुमार सुवेदीले बताए । उनले नगरपालिकाले प्रत्येक वडाहरुमा कम्तीमा ६० लाखका सडकका योजनाहरु राखेको जानकारी दिदैं सडकको कामलाई नै प्राथमिकता दिएको जनाए ।
उता दैलेख जिल्लामा पनि पुरानाभन्दा नयाँ सडक निर्माणको कामलाई प्राथमिकता दिएको बताइएको छ । गुराँस गाउँपालिकाले ८५ किमी नयाँ सडक निर्माण गरेको छ । गाउँपालिका प्रमुख खेमराज वलीले झण्डै ८५ किमी नयाँ सडक निर्माण गरिएको बताए ।
यस्तै ग्राभेल गर्ने काम भने अव सुरु हुने उनको भनाइ छ । यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिका, डुंगेश्वर गाउँपालिकालगायतले पनि नयाँ सडकहरु निर्माण गरिरहेको बताइएको छ ।
प्रकाशित मिति: ६ माघ २०७५, आईतवार १२:४६