सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले कांग्रेसले मुलुकको आर्थिक विकासको नेतृत्वपनि गरेको बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले बुधवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. महतले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस नै आर्थिक विकासको नेतृत्वकर्ता पनि भएको दावी गरेका हुन् ।
पूर्वाधारको विकासले मात्रै मुलुक समृद्धि हुने भन्दै उनले दुई तिहाईको केपी ओली नेतृत्वको वर्तमान सरकार मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाए । विगतमा कांग्रेसले जम्मा गरेको ढुकुटी अहिले कम्युनिष्ट सरकारले आफूखुशी खर्च गरेको भन्दै नेता डा. महतले कांग्रेसको विकासको रोडम्यापमा अहिलेको सरकार हिंडेको उल्लेख गरे ।
नेता महतले कांग्रेसका चर्को गुटवन्दी रहेको स्वीकार्दै शीर्ष नेतृत्वबाटै त्यसको अन्त्य हुनुपर्ने बताए । वर्तमान नेतृत्वमा धेरै कमजोरी देखिएको दावी गर्दै उनले अव नयाँ नेतृत्वले नयाँ कांगे्रस बनाउनुपर्ने समय आएको उल्लेख गरे ।
कार्यक्रममा कांग्रेसका अर्को केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टीभित्र सधैं एकताको राप नअलाप्न कार्यकर्ताहरुलाई सुझाव दिए । उनले पहिलो कुरा एकता भएको बताउँदै यदि शीर्ष नेतृत्ववीच एकता भएन भने अधिवेशनबाट विदाई गर्नुपर्ने उल्लेख गरे । उनले अवको कांग्रेसको नेतृत्व नयाँ
हुनुपर्ने भन्दै त्यसका लागि तयार रहन निर्देशन दिए । उनले पनि वर्तमान सरकारको कार्यशैलीको विरोध गर्दै अहिलेको सरकार काम कम, कुरा धेरै गर्न थालेको बताए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य यज्ञबहादुर विसी, पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल, कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्रीय सभापतिहरु नारायण कोइराला, लालवीर भण्डारीलगायतले कांग्रेसको पक्षमा ठूलो जनमत भएकोले आगामी दिनमा पहिलो पार्टी बन्ने गरी कदम चाल्न शीर्ष नेतृत्वहरुलाई सुझाव दिएका थएि ।
प्रकाशित मिति: २ माघ २०७५, बुधबार १३:०३