सुर्खेत । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको आरोप लगाएका छन् । आइतवार नेपाली कांंग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उपसभापति निधिले जनताको पक्षमा काम गर्न नसक्दा वर्तमान सरकार र उक्त पार्टी असफल भएको उल्लेख गरे ।
नेता निधिले संघीय र प्रदेश सरकारले पनि कुनै काम गर्न नसक्दा नेकपा पार्टी पनि असफल भएको बताए । प्रदेशको अधिकार कटौती गरी संघमै राख्न खोजेकाले वर्तमान सरकारले प्रदेश सरकारलाई पनि निकम्मा बनाएको नेता निधिले बताए। कानुनहरु पनि बनाउन नसकेको र अधिकारहरु पनि नदिएका कारण वर्तमान सरकार अधिनायकवादतर्फ उद्दत रहेको उनको भनाइ छ ।
अहिलेसम्म उपलव्ध परिवर्तनलाई नेकपाको सरकारले संस्थागत गर्न नलागेको भन्दै नेता निधिले मुलुकमा हत्या, हिंसा, अपराधहरुलाई नियन्त्रण गर्न उदासीन रहेको उल्लेख गरे । कांग्रेस प्रतिपक्षमा बसेर सरकारको खबरदारी गरिरहेको दावी गर्दै नेता निधिले महासमिति बैठकपछि कांग्रेस थप मजबुत बनेको टिप्पणी गरे । उनले वर्तमान सरकारले गर्न नसकेको कामको वारेमा र कांग्रेसले गरेको विकास निर्माणको कामवारे बुझाउन जनतासमक्ष जान नेता कार्यकर्ताहरुलाई सुझाव दिए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर विसी, पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल, क्षेत्रीय सभापति खड्क पोख्रेल, नारायण कोइराला, लालवीर भण्डारी, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल ट्रेड युनियन कांग्रेसका कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीलगायतले कांग्रेसलाई सशक्त बन्न आग्रह गर्दै पार्टीका शीर्ष नेताहरु पनि एक हुन जोड दिएका थिए ।
प्रकाशित मिति: २९ पुष २०७५, आईतवार १५:१५