सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्षको हालसम्म सुर्खेतमा २९ सवारी साधन दुर्घटनामा परेको जानकारी दिएको छ । कार्यालय सुर्खेतका अनुसार दुर्घटनाबाट १९ जना मानिसको मृत्यु भएको छ भने १ सय १७ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा १, भदौमा ५, असोजमा ७, कात्तिकमा ४, मंसिरमा ११, पुसमा १ सवारी साधन दुर्घटनामा परेका छन् । यस्तै साउनमा १, भदौमा २, असोजमा ३, कात्तिकमा ५ र मंसिरमा ८ जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयले गतिविधिहरू गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताएका छन् । ‘सवारी दुर्घटना शून्यमा झार्न नसकिएपनि पहिलेका वर्षहरूको तुलनामा न्यूनीकरण गर्ने लक्ष्यमा हामी छौं,’ प्रहरी निरीक्षक बिसीले भने, ‘लक्ष्य अनुसार गतिविधि पनि गरिरहेका छौं ।’
कार्यालयका तर्फबाट चालू आर्थिक वर्षमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यालयले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रमहरूबाट १२ हजार ३ सय २ जना लाभान्वित बनेको प्रहरी निरीक्षक बिसीले बताए । उनले चालू आर्थिक वर्षको हालसम्म ३७ पटक विद्यालय, सवारी चालकहरूलाई प्रत्यक्ष राखेर १ सय ५१ पटक र यातायात व्यवसायी तथा काउण्टरका कर्मचारीहरूलाई राखेर १७ पटक सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।
उनका अनुसार ४ हजार ९ सय ५६ जना विद्यार्थी, ७ हजार १ सय ८१ जना सवारी चालक र १ सय ६५ जना सम्बन्धित क्षेत्रका कर्मचारीहरू सचेतनामूलक कार्यक्रमबाट लाभान्वित बनेका छन् ।
यसैगरी प्रहरी निरीक्षक हरिबहादुर बिसीले जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति अभाव रहेको बताए । जिल्लामा सहज रूपमा काम गर्न कम्तीमा पनि ५० जना ट्राफिक प्रहरी आवश्यक पर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख बिसीले बताए । बिसीका अनुसार हाल सुर्खेतमा दरबन्दी र करारमा गरी ३७ जना मात्र कार्यरत छन् ।
हाल सुर्खेतमा उपत्यकाभन्दा बाहिर ८ वटा मात्र ट्राफिक प्रहरी पोष्ट स्थापना भएका छन् । प्रमुख बिसीका अनुसार अझ कम्तीमा ५ ठाउँमा पोष्ट स्थापना गर्नुपर्ने देखिएको छ । उनका अनुसार जिल्लाका पूर्वी क्षेत्रमा पर्ने राकम, बबई, पश्चिम क्षेत्रमा पर्ने अवलचिङ, जामु, गुराँसेमा ट्राफिक प्रहरी पोष्ट स्थापना गर्नु आवश्यक छ ।
हाल सुर्खेत–बर्दिया सीमानामा पर्ने बबैमा बर्दियाको ट्राफिकले हेर्ने गरेको छ भने दैलेख र सुर्खेतको सीमानामा पर्ने गुराँसेमा दैलेखको ट्राफिकले हेर्ने गरेको छ । जिल्ला बाहिरको ट्राफिकले आवश्यकता अनुसार मात्र काम गर्ने भएकाले नियमित रूपमा काम गर्नका लागि जिल्लाभित्रैको ट्राफिक सीमानामा राख्नुपर्ने बिसीले बताए ।
सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी हुनुका साथै प्रदेशमा प्रवेश गर्न मुख्यद्वारका रूपमा रहेको हुँदा पनि सवारी चेकजाँचमा कडाइ गर्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार १५:५७