सुर्खेत । सन् २०१० मा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि सुर्खेतमा बर्षेनी २६ जना नयाँ कुष्ठरोगीहरु फेला पर्ने क्रम जारी रहेको छ ।
कर्णाली प्रदेशमा कुष्ठरोगका ११४ जना नयाँ बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७४-०७५ मा प्रदेशका १० जिल्लामा नयाँ रोगी पत्ता लागेका हुन् ।
तीमध्ये सर्ने सम्भावना भएका १०५ र नसर्ने ९ जना छन् । सुर्खेतमा कुष्ठरोग सम्वन्धी उपचार र निवारण गर्दै आएको आईएनएफ सुर्खेतले जिल्लामा प्रतिबर्ष २६ जनासम्म नयाँ कुष्ठरोगीहरु फेला पर्ने गरेको जनाएको छ । गैरसरकारी संस्था आईएनएफका अनुसार सबैभन्दा बढी बिरामीको संख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा २६ जना नयाँ बिरामी फेला परेका छन् । आइएनएफ सुर्खेत क्लष्टर इन्चार्ज मंगल थारुले नयाँ फेला परेका कुष्ठरोगीहरुमा धेरैजसो बढी किटाणुबाट संक्रमित भएको जानकारी दिए । जसबाट अरुलाई छिटै सर्न सक्छ । बढी किटाणु भएका कुष्ठरोगीहरुलाई जतिसक्यो छिटो उपचारमा ल्याउन सके यो रोग नियन्त्रण गर्न सकिने इन्चार्ज थारुले बताए ।
इन्चार्ज थारुका अनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा ९-९ जना नयाँ बिरामी फेला परेका छन् । यस्तै, जुम्ला, मुगु र सल्यानमा ३-३ र हुम्लामा एक जना बिरामी फेला परेका छन् ।
सरकारले सन् २०२० सम्ममा नेपालबाट कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ । प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षे्नि बढ्दै जाँदा यसमा चुनौती देखिएको छ । आईएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका प्रबन्धक मंगल थारुका अनुसार नेपालमा पनि वर्षेनि ३ हजारभन्दा बढी कुठरोगका बिरामी फेला पर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार यो क्रम बढ्दो मात्रामा देखिएको छ ।
उनका अनुसार अहिले कर्णाली प्रदेशका जाजरकोट, दैलेख, कालिकोट र रुकुममा नयाँ कुष्ठरोगी फेला पर्ने क्रम निकै बढेको छ । सुर्खेतमा प्रति १० हजारमा एक जनाभन्दा कमलाई कुष्ठरोग हुने गरेको पाइएपनि नयाँ फेला पर्ने क्रमपनि नरोकिएकोले उपचारमा चुनौती थपिएको आइएनएफ सुर्खेतले जनाएको छ ।
साइनिङ अस्पतालमा साउनयता १० जना बिरामी उपचारमा आएका छन् । गत वर्ष ६० जना बिरामी उपचारमा आएको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म १० हजार ८ सय बिरामीलाई सेवा दिएको छ । कुष्ठरोग उपचारका लागि अस्पतालमा २५ वटा शय्याको क्षमता छ । गत वर्ष १४६ जना उपचारका लागि भर्ना भएको अस्पतालका प्रबन्धक थारुले बताए ।
ब्याक्टेरियाका कारण कुष्ठ रोग लाग्ने गर्छ, जुन श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्काेमा सर्छ । शरीरमा नचिलाउने रातो तथा फुस्रो दाग देखा परेमा, हात, खुट्टा तथा आँखाको मांसपेशी कमजोर भएमा, कानको लोती बाक्लो भएमा तथा शरीरमा गिर्खाहरू देखा परेमा कुष्ठरोगको लक्षण हुन सक्ने थारुले बताए ।
“धेरैजसो अल्सर र औषधीको ‘साइड इफेक्ट’का कारण नशामा प्रभाव पार्छ र त्यसका कारण नशामा स्पर्श शक्ति हराउँछ,” थारुले भने, “छालामा लाटोपना हुनु र छुँदा थाहा नहुनेजस्ता लक्षण देखा पर्छन्।” समयमै उपचार नभएमा अंगभंग हुन सक्ने उनले बताए । उपचार गराएमा रोग लागेको ६ देखि १२ महीनाको अवधिमा निको हुने उनले बताए ।
कुष्ठरोगको क्षेत्रमा शोध गरिरहेकी सुडानकी डा. उल्लाब्रिट एंगेल ब्रेक्टसनले मानव इतिहासको पुरानो मानिने यो रोग लाग्नेबित्तिकै धामी–झाँक्रीतिर जाने हुँदा उपचारमा ढिलो मात्र आउने गरेको पाइएको बताइन् ।
प्रकाशित मिति: १८ पुष २०७५, बुधबार १५:१४